नारायणगढ–बुटवल सडक धमाधम कालोपत्र

बिस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्रको काम भइरहेको छ ।

नारायणगढ–बुटवल सडक धमाधम कालोपत्र

काठमाडौं । बिस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्रको काम भइरहेको छ । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा कालोपत्रको काम भइरहेको छ ।

सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर ९ठेक्का व्यवस्थापक० राजेश झाले हालसम्म तीन किलोमिटरभन्दा बढी कालोपत्र गरिएको जानकारी दिनुभयो । “हामीले यस वर्ष २० किलोमिटरभन्दा बढी क्षेत्रफलमा अक्सपाल्ट ९कालोपत्र० गर्ने योजनाका साथ काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “गैँडाकोटको भेडाबारीबाट झराही खोला, रजहरमा दुई किलोमिटर क्षेत्र तथा देवचुलीको लोकाहाबाट कावासोतीको डण्डासम्म कालोपत्र गर्ने गरी धमाधम काम अगाडि बढाएका छौँ ।” अहिले कालोपत्र भइरहेको क्षेत्रबाहेक थप पाँच किलोमिटर बढी क्षेत्र कालोपत्रका लागि तयारी भइसकेको उहाँको भनाइ छ ।
 
सडक बिस्तारका लागि दुई सय उपकरण 

सडक बिस्तारका लागि निर्माण कम्पनीले एक हजार बढी जनशक्ति तथा दुई सय बढी उपकरण प्रयोग गरिरहेको उहाँको भनाइ छ । “सडक विस्तारका लागि ८० टिपर, ३० वटा एक्साभेटर, १३ सेट रोलर र १३ सेट ग्रेडर तथा डोजरसहितका उपकरण प्रयोग भइरहेका छन्”, उहाँले भन्नुभयो, “कम्पनीको आफ्नै दुईवटा कङ्क्रिट उत्पादन गर्ने प्लान्ट तथा एउटा अक्सपाल्ट ९कालोपत्र गर्न आवश्य पर्ने अलकत्रासहितको सामग्री उत्पादन गर्ने० प्लान्ट निर्माण गरेका छौँ ।” डण्डामा रहेको अक्सपाल्ट प्लान्टबाट उत्पादित सामग्री आवश्यक तापक्रम मिलाएर कालोपत्र गर्ने ठाउँसम्म लगेर कालोपत्रको काम भइरहेको उहाँको भनाइ छ ।

उहाँले दुई लेयर कालोपत्र सँगसँगै गर्दै आएको बताउनुभयो । “हामीले सुरुमा छ सेन्टिमिटर अक्सपाल्ट गरेका छौँ, त्यसको दुई दिनमै पुनः चार सेन्टिमिटर अक्सपाल्ट थप गर्दै कामलाई छोट्याएका छौँ”, उहाँले भन्नुभयो, “यसरी काम गर्न अप्ठ्यारो हुने भए पनि प्रगति देखिने भएकाले सँगसँगै दुई लेयर कालोपत्रको काम गरेका हौँ ।” यस आर्थिक वर्षभित्र ५० प्रतिशत काम गर्ने लक्ष्य रहेको भए पनि वर्षातलगायतका कारण काममा असहज भए पनि ४५ प्रतिशत लक्ष्य भेट्टाउने ठेक्का व्यवस्थापक झाले बताउनुभयो ।

सडकको प्रगति ३० प्रतिशत

नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले हालसम्मको प्रगति ३० दशमलव पाँच प्रतिशत पुगेको बताउनुभयो । हाल सो सडकमा कल्भर्ट निर्माण, मेजर ब्रिज, माइनर ब्रिज, बिम, सुपस्ट्रक्चर ९पुलको ढलान गर्नुअघिको काम० भइरहेको ढकालको भनाइ छ । “सडक विस्तारका क्रममा अहिले धमाधम काम भइरहेको छ”, ढकालले भन्नुभयो, “मासिक तीन प्रतिशतभन्दा बढी प्रगति हुने गरी निर्माण कम्पनीले काम गरेको छ ।”

सडक बिस्तारका लागि माटो फिलिङ गर्ने, बिजुलीको पोल सार्ने काम सँगसँगै भइरहेको ढकालले बताउनुभयो । “अहिले भइरहेकै गतिमा काम अगाडि बढेको खण्डमा यस वर्ष ५० प्रतिशत काम हुने हामीले अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “सडक विस्तारका लागि आवश्यक पर्ने माटो, ढुङ्गा, गिट्टीलगायतका कच्चा पदार्थको समस्या पनि छैन ।” माटो तथा ढुङ्गा, गिट्टीका लागि स्थानीय तहहरूले आवश्यक सहयोग पु¥याइरहेका ढकालले बताउनुभयो ।

सडक विस्तारका क्रममा अधिकांश ठाउँमा धुलो उड्ने गरेको भए पनि यस बर्खासम्म धेरै समस्या समाधान हुने उहाँको भनाइ छ । चार वर्षअघि विस्तारको काम सुरु भएको नारायणगढ–बुटवल खण्डको सहरी क्षेत्रमा चार लेनका अतिरिक्त ९सर्भिस लेन० दुई लेन तथा ग्रामीण क्षेत्रमा चार लेनमा राजमार्ग फराकिलो हुनेछ । दाउन्ने पहाडको पाँच किलोमिटर क्षेत्रमा असहज भौगोलिक अवस्थाका कारण तीन लेनमा सडक विस्तार हुने गरी ठेक्का सम्झौता गरिएको छ ।  रासस

खबरपाटी
खबरपाटी