महान्यायाधिवक्ताको निर्णय बदर माग गर्दै रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर

लामिछानेविरुद्ध दोहोरो राहदानीसम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय बदर गर्न माग

महान्यायाधिवक्ताको निर्णय बदर माग गर्दै रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दोहोरो राहदानीसम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । सिन्धुलीका युवराज पौडैल सफलले आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

रिट निवेदनमा उत्प्रेषण, परमादेशलगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनी माग गरिएको छ । मुद्दा नचलाउने निर्णय गरेको भन्दै महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ । सर्वोच्चले उक्त रिट अध्ययन गरिरहेको र केही दिनमा सम्पर्क गर्न भनेको रिट निवेदक युवराज सफलको भनाइ छ ।

रविविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो । तर, प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए । आफूविरुद्ध मुद्दा नचल्ने भएपछि रवि आगामी वैशाख १० गते हुने चितवन २ को निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । रविले सरकारलाई विश्वासको मत दिएर दोहोरो राहदानी प्रकरण सामसुम बनाएको आशंका गरिएको छ । तर उनले आफूले कोहीसँग सम्झौता नगरेको दाबी गरेका छन् ।

खबरपाटी
खबरपाटी