काठमाडौं । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका १० दलमा करिव सहमति जुटेपछि आज मन्त्रीपरषद्ले पूर्णता पाउँदैछ । बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शुक्रबार मन्त्रालय भागबण्डाको विषय टुङ्गो लगाएर शुक्रवार नै शपथको कार्यक्रम गर्नेबारे छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
सत्तारुढ दलको बैठक सकिएपछि प्रधानमन्त्री दाहालले सत्ता साझेदार दलका नेताहरुसँग छुट्टाछुट्टैसमेत छलफल गर्नुभएको थियो । सत्ता साझेदार दलहरुको बीचमा काँग्रेसले आठ, माओवादी पाँच, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले दुई/दुई र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीलाई एक /एक मन्त्रालय दिने सहमति छ ।