काठमाडौं । अर्जेन्टिनी फुटबलर लियोनल मेसीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पूरा गरेका छन् । बुधवार बिहान कुराकावबिरुद्ध भएको मैत्रीपूर्ण खेलमा गोल गर्दै मेसीले अन्तर्राष्ट्रिय गोलमा शतक पूरा गरे । खेलमा अर्जेन्टिना ७-० गोलले विजयी भएको थियो भने मेसीले ह्याट्रिक गरेका थिए। उनले पहिलो हाफमै ३ गोल गरेका थिए। २० औँ मिनेटमा गरेको पहिलो गोलमा मेसीको सय गोल पूरा भएको थियो। त्यसपछि उनले ३३ र ३७ औँ मिनेटमा गोल गरे।
यसअघि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा इरानका अली दाइ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मात्र सय गोल पूरा गरेका थिए। दाइ सय गोल पूरा गर्ने पहिलो खेलाडी थिए। हालसम्म रोनाल्डोले एक सय २२, दाइले एक सय ९ र मेसीले एक सय २ गोल गरेका छन्। सिनियर अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोले एक सय ९८, दाईले एक सय ४८ र मेसीले एक सय ७४ खेल खेलेका छन्।