काठमाडौं । कृष्णपुर नगरपालिका–६ स्थित सांस्कृति महत्व बोकेको थारु गाउँ सिंहपुरमा घरवास सञ्चालनको तयारी गरिएको छ । सिंहपुर सामुदायिक वनको सहयोगमा घरवास सञ्चालन गर्न लागेको हो ।
थारु गाउँमा सञ्चालन हुने घरबासमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थारु संस्कृतिबारे जानकारी गराउन परम्परागत नृत्य देखाउने नृत्य टोली गठन गरिएको छ । नृत्य टोलीलाई प्रशिक्षित गर्ने काम पूरा भएको सामुदायिक वनका अध्यक्ष जोगराज चौधरीले बताउनु भयो ।
“पाहुनाको रुचिअनुसार परम्परागत परिकार बनाउने तालिम दिने काम गरेका छौँ”, उहाँले भन्नुभयो, “पाहुनालाई परम्परागत वेषभूषामा स्वागत सत्कार गर्नेबारे जानकारी दिने कार्य गरेका छौँ ।” उहाँका अनुसार दुई वर्षअघि नै घरबास सञ्चालन गर्ने योजना भए पनि कोरोना महामारीका कारण अगाडि बढाउन सकिएको थिएन ।
उहाँले भन्नुभयो, “घरबास सञ्चालनका लागि दर्ता गर्ने कार्य अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो । पहिलो चरणमा १० घरमा घरबास सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । गहुँबाली भित्र्याउने काम गरिसकेपछि घरबास सञ्चालनका लागि सामुदायिक वनको सहयोगमा परम्परागत थारु घर निर्माण गरिने चौधरीले बताउनु भयो ।
“सामुदायिक वनबाट जति सकिन्छ सहयोग गर्छौं”, उहाँले भन्नुभयो, “अपुग सहयोगका लागि दातृ निकायलाई गुहार्छौं, नगरपालिकाले रु दुई लाख दिने अश्वासन दिएको छ, त्यसले पुग्दैन थप बजेटका लागि प्रस्ताव गर्छौं ।” घरबासमा आउने पाहुनालाई परम्परागत फेरिया, घोंगी, मुसाको चटनी, फुलौरी, अन्ती धानको भात, ढिक्रीलगायतका परिकार दिइने वडाध्यक्ष बाबुराम चौधरीले बताउनु भयो ।
“परम्परागत शैलीमै प्रस्तुत गरिने झुम्रा, लठवा, सखिया, राना थारु समुदायको थरिया नृत्य देखाउन नृत्य टोलीलाई प्रशिक्षित गर्ने गरेका छौँ”, पूर्ववडाध्यक्ष नत्थुराम चौधरीले भन्नुभयो, “पाहुनालाई सामुदायिक वनको जैविक विविधताबारे जानकारी दिन घुमाउने प्रबन्ध मिलाउने योजना बनाइएको छ ।”
पाहुनालाई सामुदायिक वनको दृश्यावलोकन स्तम्भ, वनभोज स्थलमा पु¥याएर जीवजन्तु, चराचुरुङ्गी देखाउने र त्यसबारे जानकारी दिने कार्य गरिने उहाँले बताउनुभयो । सिंहपुर गाउँलाई पुरानो थारु गाउँका रुपमा लिइने गरिन्छ । परम्परागत संस्कृति जगेर्ना गर्ने कार्यमा यस क्षेत्रका बुढापाकादेखि युवाले योगदान दिँदै आएका छन् । संरक्षणका हिसाबले सिंहपुर सामुदायिक वनलाई यस क्षेत्रकै नमुना वनका रुपमा लिइने गरिन्छ । सामुदायिक वनमा तीन सय ६५ घरधुरी आवद्ध छन् । रासस