नेविसंघको इतिहासमा दुजाङ शेर्पा सफल सभापति बन्लान् ?

१४ वर्षपछि स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा हुनु नै आफैमा एउटा इतिहास हो

नेविसंघको इतिहासमा दुजाङ शेर्पा सफल सभापति बन्लान् ?

काठमाडौं । १४ वर्षपछि स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा हुनु नै आफैमा एउटा इतिहास हो । निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच नै मुख्य प्रतिस्पर्धा देखियो ।

अन्य पार्टीका विद्यार्थी संगठन त्यत्ति प्रतिस्पर्धामा आउन सकेनन् ।एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारी नयाँ नेतृत्वसहित चुनावी मैदानमा होमिएका थिए । अनेरास्ववियुको अध्यक्षमा समिक बडाल महाधिवेशनबाट निर्वाचित भएर आएका हुन् ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलाई केही समयअघि माओवादीले नेतृत्व सुम्पिएको मात्र होइन, पूर्ण कमिटी नै बनाएको थियो । तर, नेविसंघ भने फगत एउटा सभापति केन्द्रमा लिएर चुनावी मैदानमा उत्रिएको थियो । एक वर्षअघि कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पालाई नेविसंघको सभापति बनाएका थिए ।

शेर्पालाई सभापति बनाउने विषयमा पार्टीमा कुनै मतभेद देखिएन ।सिंगो कांग्रेस कमिटी नै शेर्पाको पक्षमा थियो । त्यही भएर पनि अनेक माग र दबाब आउँदा पनि कांग्रेसले महाधिवेशनबाटै नयाँ नेतृत्व चयन गर्ने भन्दै पूर्ण कमिटी विस्तार गरेन ।

जबकि नेविसंघका अध्यक्ष भइसकेका विश्वप्रकाश शर्मा र महामन्त्री भइसकेका गगन थापा कांग्रेसको महामन्त्री छन् । यसपटक स्ववियु चुनावअघि नै नेविसंघ तदर्थ समितिले पूर्णता पाउने भनिए पनि भएन । चुनावमा एक्लै मैदानमा उत्रिएका शेर्पा केही क्याम्पसमा सभापतिको उम्मेदवार छनोट गर्दा विवादमा नपरेका होइनन् । तर त्यति आलोचित भएनन् ।

त्रिवि केन्द्रीय क्याम्पस, शंकरदेव, पद्मकन्या, थापाथली क्याम्पस, सरस्वती क्याम्पसमा नेविसंघले सभापतिसहित जितेको छ । उपत्यका बाहिरका ठूला क्याम्पसमा पनि नेविसंघले जितेको छ । अहिलेसम्म नेविसंघले स्ववियु निर्वाचनमा १२६ क्याम्पसको सभापतिसहित अधिकांश पदमा विजयी हासिल गरेको छ ।

अझै पनि मतपरिणाम आउने क्रम जारी छ । त्रिविका १३ आंगिकसहित ४३ क्याम्पसमा चुनाव रोकिएको छ । काठमाडौंसहित देशका ठूला क्याम्पसमा रोकिएको चुनावमा पनि नेविसंघले जित्नेमा धेरैले विश्वास लिएका छन् । एउटा सभापति भएर १२६ क्याम्पसमा जितेर देशकै ठूलो विद्यार्थी संगठन बनाएर दुजाङ शेर्पाले इतिहासमा नाम लेखाएका छन् ।

खबरपाटी
खबरपाटी