नेकपा एमालेले राष्ट्रपति चुनावमा उम्मेदवारी दिने भएको छ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको अवस्थामा एमालेले उम्मेदवारी दिने तयारी गरेको हो ।
उम्मेदवारको टुंगो लगाउन शनिवार बिहान एमाले सचिवालय बैठक बस्दैछ ।
निर्वाचन आयोगले शनिवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।
शुक्रवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको बैठकले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने लगभग पक्कापक्की जस्तै रहेको स्रोतको दाबी छ । यसबारे बिहान बस्ने कार्यसम्पादन समितिको बैठकले औपचारिक निर्णय लिनेछ ।