काठमाडौँ । अहिले त्रिभुवन विश्वविद्यालयका हरेक क्याम्पसहरू स्वतन्त्र विद्यार्थी युनियन(स्ववीयु)को चुनावले तातेको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववीयु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते आगामी चैत ५ गते गर्ने निर्णय गरेसँगै क्याम्पसहरूमा विद्यार्थीहरूको चहलपहल बाक्लो देखिँदै गएको छ ।
क्याम्पसहरूमा राजनीतिक क्रियाकलापसँगै विकास र निमार्णका कुराहरू व्यापकता साथ उठिरहेको छ । राजनीतिक दल निकट विद्यार्थी सङ्गठनहरूको केन्द्रीय समितिदेखि क्याम्पस इकाई समितिहरूमा समेत स्ववीयु चुनाव केन्द्रित गतिविधि देखिन थालेको छ ।विद्यार्थी सङ्गठनहरूदेखि क्याम्पसहरूमा समेत स्ववीयु चुनावको गतिविधि बढेको छ ।
स्ववीयु सभापतिहरु मध्येबाट दुई जना त्रिवि सभा सदस्य हुने लगायत विभिन्न व्यवस्थाहरू रहेको छ । त्यसैले विश्वविद्यालयको नीति निर्माणमा उनीहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकोले उक्त पदमा जिम्मेवार व्यक्ति नै जानु पर्ने कारण पनि यस चुनावको ठुलै महत्त्व रहेको छ ।
यस्तै चुनावमा होमिएका पाटन क्याम्पसमा अखिल क्रान्तिकारीका ललितपुर जिल्ला इन्चार्ज निगम भण्डारी भन्छन्, “राजनीति गर्न होइन क्याम्पसको स्तर उन्नतिका निम्ति स्ववीयुको निर्वाचन अत्यन्तै जरुरी रहेको छ ।” सरकारी क्याम्पसहरू आर्थीक रूपले नभई गलत र फोहोर व्यवस्थापन प्रणालीका कारण नाजुक बन्दै गएको उनको ठम्याई छ ।
पाटन क्याम्पसमा विश्वविद्यालयमा रहेका प्राय सबै विषयको पठाई हुने भएकोले यस क्याम्पसको आकार र प्रकार विशेष रहेको छ । तर जत्रो आकार त्यति नै कुरूप देखिन्छ पाटन क्याम्पस ।
पाटन ढोकाको किनारमा रहेको यस क्याम्पसको क्षेत्रफल र विद्यार्थीको सङ्ख्या पर्याप्त मात्रामा रहेता पनि वातावरण भने कुनै माछा बजार भन्दा कमको रहेको छैन । भवनहरू अत्यन्तै पुराना छन्, लेउ र दागहरूले भरिएका छन् । टिनका टहराहरू फुटेका छन् । पर्खालहरू भत्किएका छन् । भण्डारी भन्छन्, “चुनाव त १४ वर्षदेखि मात्र नभएको हो, क्याम्पसमा देखिने तथा नदेखिने समस्याहरू त २८ वर्ष भन्दा पुराना हुन, यस अघिका सभापतिहरूले धन सम्पत्तिहरू जोडे, राजनीतिक पकड बनाए तर क्याम्पसको अवस्था जस्ताको त्यस्तै केही पनि सुधारेनन् ।”
उक्त कार्यहरुमा अखिल क्रान्तिकारीको विगतदेखि गम्भीर ध्यानाकर्षण रहेको र यसै क्याम्पसको विकासका लागि अखिल क्रान्तिकारी व्यापकताका साथ चुनावमा होमिएको इन्चार्ज भण्डारी बताउँछन् । क्याम्पसलाई क्याम्पस जस्तो बनाउन अखिल क्रान्तिकारीले क्याम्पस भित्रै हुने धुर्मपान तथा सुर्तीजन्य पदार्थ सेवनको पूर्व नियन्त्रण तथा सरसफाई अभियानहरू पटक पटक सञ्चालन गर्दै आएको बताउँछन् । तर, इन्चार्ज भण्डारी आफै यो पर्याप्त नरहेको बताउँदै यसलाई दिगो तथा प्रभावकारी बनाउन आफूहरूले चुनाव जित्न आवश्यक रहेको उनी बताउँछन् ।
पाटन क्याम्पसमा जे काम का लगी पनि लाइन बस्न पर्ने प्रणालीको अन्त्य र फारम शुल्कहरूमा बैङ्क भौचरको लागि क्याम्पसका लागि मात्र बैङ्कको काउन्टर सुचारु गर्ने अभियानमा अखिल क्रान्तिकारी रहेको दाबी गर्छन् । त्रिविले ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववीयु चुनावको घोषणा गरेको छ । त्यो चुनावका लागि तयारीमा त्रिवि पनि लागिसकेको छ ।