नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्नेगरी माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने रणनीति लिएका छन् । एमाले अध्यक्ष ओलीनिकट स्रोतका अनुसार अघिल्लो हप्ता नै ओलीले अनौपचारिक प्रस्ताव नेपाललाई राखिसकेका छन् ।
ओलीको सोही प्रस्तावपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच बाक्लो संवाद भएको हो । आफू निर्वाचित हुनेगरी उम्मेदवार हुन नेपालले प्रचण्डलाई मनाउन थालेका छन् । त्यही क्रममा सोमबार दिउँसो प्रचण्ड र नेपालबीच सिंहदरबारमा लामो संवाद भएको थियो । ओलीको प्रस्तावबारे अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् । स्रोतका अनुसार त्यसक्रममा एमालेले समर्थन गर्ने भएकोले ुतपाईंले पनि समर्थन गर्नुहोस्ु भन्ने आशय व्यक्त गरेका छन् ।
त्यसैले प्रचण्डले पनि राष्ट्रपतिका लागि माधव नेपालको नाम ओलीले प्रस्ताव गरे के गर्ने भनेर कांग्रेस नेताहरूलाई सोधेको प्रसंग आएको बताइन्छ । राष्ट्रपतिमा माधव नेपाललाई अघि सारेको अवस्थामा प्रचण्डलाई पनि सकस पर्नेछ । एमाले स्रोतका अनुसार ओलीले माधव नेपाल वा झलनाथ खनालमध्ये एक जनालाई राष्टपतिको उम्मेदवार बनाउने तयारी गरेका छन् । त्यसको सन्देश पार्टी पंक्तिलाई दिएका छन् ।
तर, माधव नेपाललाई राष्ट्रपति बनाउँदा पार्टी मिलाउन सजिलो हुने भएकोले उनले भेटेर प्रस्ताव गरेको पनि बताइएको छ । ओलीनिकट स्रोतका अनुसार ओली र नेपालबीच भेट भएरै छलफल भएको हो, उक्त छलफलमा माधव नेपाललाई पार्टी एकता गराउन पनि भनिएको छ ।
त्यसो त, माधव नेपालले चुनावलगत्तै एमालेनिकट नेताहरूसँग आफूलाई एमालेले राष्ट्रपति प्रस्ताव गरिदियोस् भन्ने आशय व्यक्त गरेका थिए । त्यतिबेला ओलीले पुरस्कृत गर्न सकिँदैन भन्ने जवाफ दिएका थिए । एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्नेगरी उक्त प्रस्ताव अघि बढेको हो । एकीकृत समाजवादीभित्र सांसद किसान श्रेष्ठलगायतको टोलीमात्र होइन, सोमप्रसाद पाण्डे, रामकुमारी झाँक्रीसहितका नेताहरू पार्टी एकताका लागि सक्रिय रहेका छन् ।