काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । २००६ सालमा पहिलो पटक विमान अवतरण भएको यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज संख्यासमेत बर्सेनि थपिँदै गएपछि आगामी आर्थिक वर्ष २०७९/८० बाट नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको तयारी गरिने भएको हो ।
विमानस्थल पूर्वाधार विस्तार गुरुयोजना ९सन् २०१०/२०२८० अन्तर्गत विमानस्थलको क्षमता अभिवृद्धि गर्न नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिने नयाँ टर्मिनल भवन निर्माण कार्य सुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अन्तर्राष्ट्रिय हवाई संगठन ९आईसीएओ० को मापदण्डअनुसारका हवाई यातायात सुविधाको भौतिक सुधारअन्तर्गत निर्माण गरिने नयाँ टर्मिनल भवनले करिब एक लाख वर्गमिटर क्षेत्रफल ओगट्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण, हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले विमानस्थलको उत्तरतर्फको जग्गामा निर्माण हुने नयाँ टर्मिनल भवनबाट अहिलेको भन्दा तीन गुणा बढी हवाई यात्रुले उड्डयन सुविधा लिनसक्ने बताए । ‘हाल प्रयोगमा रहेको टर्मिनल भवनबाट क्षमताभन्दा बढी अर्थात् वार्षिक ४० लाखभन्दा बढी यात्रुले सेवा लिँदै आएका छन्,’ उनले भने, ‘निर्माण हुने नयाँ टर्मिनल भवनबाट वार्षिक एक करोड यात्रुले सेवा लिनसक्ने छन् ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार नयाँ टर्मिनल भवन निर्माणमा प्राधिकरण अघि बढेको छ । सन् २०१६ मै फ्रेन्च कम्पनी एडीपीआईएलले नयाँ टर्मिनल भवनको डिजाइन प्राधिकरणलाई बुझाएको थियो । बजेटको सुनिश्चितता भएपछि आगामी आर्थिक वर्षदेखि निर्माणको चरणमा जानेछ । निर्माण सुरु भएको पाँच वर्षभित्रै निर्माण सक्नेगरी काम थाल्ने योजनाअनुसार हाल निर्माणस्थलमा रहेका नेपाली सेनाले हेलिकप्टर पार्किङका लागि प्रयोग गर्दै आएको क्षेत्र र नेपाल वायुसेवा निगमको ह्याङ्गर रहेको क्षेत्रलाई धावनमार्गको पूर्वतर्फ सार्ने तयारी भइरहेको छ ।
प्राधिकरणका अनुसार ह्याङ्गर स्थानान्तरणका लागि चिनियाँ कम्पनी सीसीईसीसी केडीएन एयरपोर्ट इन्जिनियरिङ जेभीले ठेक्का पाइसकेको छ ।