बाढी प्रभावित हाकुबेसीका बालबालिकाको अस्थायी विद्यालयमा मन्त्री बादीद्वारा निरीक्षण, न्यानो कपडा वितरण

बाढी प्रभावित हाकुबेसीका बालबालिकाको अस्थायी विद्यालयमा मन्त्री बादीद्वारा निरीक्षण, न्यानो कपडा वितरण

ललितपुर – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित हाकुबेसी आधारभूत विद्यालयका बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिकामा सञ्चालन गरिएको आवासीय सुविधासहितको अस्थायी विद्यालयको स्थलगत निरीक्षण गर्नुभएको छ।

मिति २०८३ मङ्सिर ५ गते गर्नुभएको निरीक्षणका क्रममा मन्त्री बादीले विद्यालयको शैक्षिक अवस्था, आवासीय सुविधा, खानपान, पोषण, स्वास्थ्य तथा बालबालिकाको समग्र हेरचाह र व्यवस्थापनबारे जानकारी लिनुभएको थियो। सो अवसरमा उहाँले अध्ययनरत बालबालिकालाई जाडो मौसमलाई लक्षित गरी न्यानो कपडासमेत वितरण गर्नुभएको थियो।

गत भदौ १० गतेको बाढीबाट हाकुबेसी आधारभूत विद्यालयको पठनपाठन अवरुद्ध भएपछि विस्थापित बालबालिकाको शिक्षा र संरक्षणलाई निरन्तरता दिन मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच भएको समझदारीअनुसार उक्त अस्थायी विद्यालय सञ्चालन गरिएको हो। कक्षा १ देखि ८ सम्मका ६७ जना बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको विद्यालयमा हाल ४९ जना बालबालिका अध्ययनरत छन्। विद्यालयको शैक्षिक, आवासीय तथा दैनिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी पुनर्निर्माण अभियान नेपालले सम्हालिरहेको छ।

निरीक्षणका क्रममा मन्त्री बादीले विद्यालयमा उपलब्ध गराइएको खानाको गुणस्तर र पोषणमा विशेष ध्यान दिन तथा बालबालिकाको दैनिक हेरचाह, स्वास्थ्य र समग्र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन पुनर्निर्माण अभियान नेपाललाई निर्देशन दिनुभएको थियो।

उहाँले अध्ययनरत बालबालिकासँग करिब एक घण्टा छुट्टै छलफल तथा अन्तरक्रिया गर्नुभएको थियो। सो क्रममा बालबालिकाको अवस्था, उनीहरूले भोगिरहेका समस्या, विद्यालयको वातावरण, उपलब्ध सुविधा र आवश्यकताबारे स्वयं बालबालिकासँग कुराकानी गरी जानकारी लिनुभएको थियो। बालबालिकाको भावना, अनुभव र आवश्यकतालाई प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यले गरिएको उक्त छलफलमा मन्त्री बादीले उनीहरूसँग आत्मीय संवादसमेत गर्नुभएको थियो। सो अवसरमा उहाँले केहीबेर बालबालिकासँग भलिबल खेल्दै रमाइलो क्षणसमेत बिताउनुभएको थियो।

निरीक्षणका क्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव शान्तकुमार भण्डारीसहित परिषद् सचिवालयका सदस्यहरूको टोलीको सहभागिता रहेको थियो।

सो अवसरमा परिषद्का सदस्य सचिव भण्डारीले मन्त्री स्वयं स्थलगत रूपमा उपस्थित भई विद्यालयको अवस्था निरीक्षण गर्नुका साथै बालबालिकासँग छुट्टै बसेर उनीहरूका कुरा सुन्नुले बालबालिकाप्रति मन्त्रीको संवेदनशीलता र चासो झल्किएको बताउनुभयो। उहाँले भन्नुभयो, “मन्त्रीज्यू आफैँ यसरी फिल्डमा आएर निरीक्षण गर्नु र बालबालिकास्वयम्‌को कुरा छुट्टै बसेर सुन्नुले उहाँ बालबालिकाप्रति निकै संवेदनशील हुनुहुन्छ भन्ने देखाएको छ। विपद् प्रभावित बालबालिकाका लागि हालको सरकारले गरेको उदाहरणीय काममध्ये यो अस्थायी विद्यालय सञ्चालनको अवधारणा पनि एक हो।”

यसैगरी, नेपाल सरकारले विपद् प्रभावित तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह र स्याहार सुनिश्चित गर्न ‘विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३’ कार्यान्वयन गरिरहेको छ। योजनाले बालबालिकालाई सम्भव भएसम्म आफ्नै परिवारमा सुरक्षित रूपमा हुर्कने वातावरण र शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षालगायतका सेवामा निरन्तर पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

खबरपाटी
खबरपाटी