डा. केसीको आफ्नो २५औँ सत्याग्रह अन्त्य,सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुदेँ सहमति

डा. केसीको आफ्नो २५औँ सत्याग्रह अन्त्य,सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुदेँ सहमति

काठमाडौं – सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुदेँ सहमति भएको छ। सहमतिसँगै डा. केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका हुन्।

पटक–पटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राति नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरी अनशन तोडाएका हुन्। डा. केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन हुने बताए।

डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।

सहमति पत्रअनुसार चिकित्सा शिक्षा आयोगको मिति २०८३ असोज ३० गतेको निर्णयअनुसार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको अनुमति र सिट निर्धारण गर्दा तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान (आर्मी मेडिकल कलेज)लाई सिट संख्या थप गर्दा मापदण्ड बमोजिम भए नभएको निष्पक्ष छानबिन गर्न प्रा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिनेछ।

समितिले सरकारलाई प्रतिवेदन पेस गरेपछि साझा प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीहरूको म्याचिङ गरिनेछ। यदि मापदण्डविपरीत वा स्वार्थको द्वन्द्व भएको पाइएमा संलग्न पदाधिकारी तथा व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याइने सहमति भएको छ।

खबरपाटी
खबरपाटी