काठमाडौं - नेपाल प्रिमियर लिग एनपीएलमा आज हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ।
जनकपुरलाई हराउँदै विजयी सुरुवात गरेको कर्णाली सोही लय कायम राख्ने लक्ष्यमा रहँदा पहिलो खेलमा जित नजिक पुगेर चितवन राइनोजसँग हारेको विराटनगर पुनरागमनको खोजीमा छ। बराबरीको स्थितिमा रहेका यी दुईबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
विराटनगर आफ्नो अघिल्लो खेलको नतिजालाई बिर्सदै पुनरागमन गर्न चाहन्छ। चितवनविरुद्धको खेलमा कुनै समय खेल आफ्नो पक्षमा पारे पनि तल्लोक्रममा ब्याटिङ धर्मराउँदा विराटनगर ८ रनले हारेको थियो। स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछानेको नेतृत्वमा रहेको टोलीमा घरेलु क्रिकेटका अनुभवी बसिर अहमद, लोकेश बम र प्रतिश जिसिजस्ता खेलाडी छन् ।
यस पटक टोलीले वेष्ट इण्डिजका विश्वचर्चित विस्फोटक अलराउन्डर आन्द्रे रसेलसहितका अनुभवी विदेशी खेलाडी भित्र्याएको छ। यसले विराटनगरको ब्याटिङ र बलिङ दुवै पक्षलाई बलियो बनाएको छ। पहिलो खेलमा शान्दार सुरुवात दिलाएका ओपनरद्धय इमरान शेख र लोकेशको लय, रसेलको आक्रमकता टोलीले यो खेलमा पनि अपेक्षा गरेको छ।
यता, कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुरलाई १९ रनले हरायो। यस्तोमा कर्णाली जितको लयलाई निरन्तरता दिने दाउमा मैदान उत्रिनेछ। कप्तान सोमपाल कामीको नेतृत्वमा रहेको टोलीमा गुलसन झा, नन्दन यादव, पवन सर्राफलगायतको उपस्थिति छ। बलिङमा युवा प्रतिभा युनिश ठकुरीले पहिलो खेलमा देखाएको प्रदर्शनले कर्णाली केही खेलाडीमा मात्र सिमित नरहेको देखाउँछ। उनीहरुलाई बंगलादेशका अकबर अलि, अरिफुल इस्लाम, स्कटल्याण्डका मार्क वार्टको साथ हुनेछ।
एनपीएलमा यी दुईबीच दुईवटामात्रै भेट भएको छ। पहिलो संस्करण कर्णाली ७ रनले जित्दा गत वर्ष विराटनगर ३ विकेटले विजयी भएको थियो। यी दुईबीचको खेल आज साँझ ५ बजे सुरु हुनेछ।