जलवायुजन्य विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र अन्तरिक्ष प्रविधि उपयोग गर्न मन्त्री श्रेष्ठको जोड

जलवायुजन्य विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र अन्तरिक्ष प्रविधि उपयोग गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएका विपद्को जोखिम न्यूनीकरण गर्न क्षेत्रीय सहकार्य, अन्तरिक्ष प्रविधि र तथ्याङ्क आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

थाइल्याण्डको बैंककमा संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (इस्क्याप) द्वारा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो आह्वान गर्नुभएको हो ।

सम्बोधनका क्रममा उहाँले नेपालमा हालै भएका हिमपहिरो तथा पहिरोजन्य विपद्ले जनधन, पूर्वाधार र जलविद्युत् आयोजनामा पारेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो । उहाँले हिमाली क्षेत्रमा उत्पन्न विपद् केही घण्टामै तल्लो तटीय क्षेत्र र सीमापारिसम्म फैलिन सक्ने भएकाले वर्षाको पूर्वानुमानमा मात्र निर्भर नभई बहुजोखिम पूर्वानुमान तथा पूर्वसूचना प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठका अनुसार द्रुत क्षति तथा आवश्यकता आकलनले विपद्को कुल प्रभाव करिब २.७ अर्ब अमेरिकी डलर बराबर रहेको र पुनःप्राप्ति तथा पुनर्निर्माणका लागि करिब ४.८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ ।

उहाँले उपग्रहबाट प्राप्त तस्बिर, भू-स्थानिक विश्लेषण, जमिनमा गरिने मापन र स्थानीय ज्ञानलाई एकीकृत गरी हिमनदी, हिमताल तथा अस्थिर भिरालो भूभागको नियमित अनुगमन गर्नुपर्ने धारणा राख्नुभयो । साथै, जोखिमसम्बन्धी सूचना समयमै आदानप्रदान गर्दै समुदायसम्म स्पष्ट चेतावनी पुर्‍याउन क्षेत्रीय साझेदारी आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले सन् २०२६ देखि २०३० सम्मको तेस्रो चरणमा अन्तरिक्ष प्रविधिको उपयोग विस्तार, तथ्याङ्क साझेदारी, प्राविधिक सहयोग र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सम्मेलनमा प्रस्तुत बैंकक मन्त्रीस्तरीय घोषणापत्रको मस्यौदाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको राष्ट्रिय अनुकूलन योजना (२०२१–२०५०), तेस्रो राष्ट्रिय निर्धारित योगदान तथा सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्यप्रतिको प्रतिबद्धता पनि दोहोर्‍याउनुभयो । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य रहे पनि स्वच्छ ऊर्जा विकास र जलवायु उत्थानशीलता अभिवृद्धिमा नेपाल प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

यसैबीच, नेपाल र इस्क्यापको संयुक्त आयोजनामा अक्टोबर २९ मा ‘सगरमाथादेखि सागरसम्म : भोटेकोशी–त्रिशूली विपद्का पाठहरू’ विषयक क्षेत्रीय संवाद आयोजना हुँदैछ । संवादमा हिमाली, भू-भौतिकीय तथा तटीय जोखिमबीचको अन्तरसम्बन्ध, उपग्रह अवलोकन, कृत्रिम बुद्धिमत्ता र पूर्वसूचना प्रणालीमार्फत विपद् तयारी सुदृढ बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

मन्त्री श्रेष्ठले एसिया तथा प्रशान्त क्षेत्रका मुलुकलाई विपद् जोखिम न्यूनीकरण, प्रविधि उपयोग र अनुभव आदानप्रदानमा सहकार्य बढाउन आह्वान गर्दै अन्तरिक्ष प्रविधिलाई जनधनको सुरक्षा र दिगो विकाससँग जोड्नुपर्ने बताउनुभयो ।

खबरपाटी
खबरपाटी