राष्ट्रपति पौडेलको सन्देश: दशैँले सामाजिक सद्भाव र भाइचारा मजबुत बनाउँछ

राष्ट्रपति पौडेलको सन्देश: दशैँले सामाजिक सद्भाव र भाइचारा मजबुत बनाउँछ

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। 

बडादशैंका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यसपर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुद बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्। 

बडादशैंले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न मद्धत पु¥याएको उनको भनाइ छ।

राष्ट्रपति पौडेलले विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन स्मरण गराउँदै दशैं अन्यायमाथि न्यायको एवम् असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइने उल्लेख गरेका छन्। 

दशैंमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुशीयाली र हार्दिकता साटासाट गरिने उल्लेख गर्दै राष्ट्रपतिले पारिवारिक, समाजिक, धार्मिक, साँस्कृतिक एवम् राष्ट्रियताका हिसाबले दशैंको अत्यन्तै महत्व रहेको बताएका छन्। 

साथै, देशका विभिन्न भागमा आएको विनासकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। राष्ट्रपतिले बाढी प्रभावित व्यक्तिको पुनःस्थापनाका लागि एकताबद्ध भई अघि बढ्नसमेत सबै पक्षलाई अपिल गरेका छन्। 

यसैगरी, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीको महान् पर्व विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका छन्। 

विजयादशमी, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सत्य, न्याय, धर्म र सदाचार अन्ततः विजयी हुन्छन् भन्ने युगीन सन्देश बोकेको बडादशैंले मानिसलाई आफ्नो आचरण र व्यवहारलाई आत्मसमीक्षा गर्ने अवसर प्रदान गर्ने बताएका छन्। 

‘विजया दशमीले असत्य, अन्याय, विभेद, हिंसा र नकारात्मक प्रवृत्तिमाथि मानवता, विवेक र नैतिक शक्तिको विजय सुनिश्चित हुने विश्वासलाई थप बलियो बनाउँछ’, शुभकामना सन्देशमा उपराष्ट्रपतिले भनेका छन्। 

विजयादशमीले समाजमा सहिष्णुता, आत्मानुशासन, संयम र कर्तव्यप्रतिको निष्ठालाई प्रवद्र्धन गर्ने उल्लेख गर्दै उनले लोभ, घृणा, अहङ्कार, ईष्र्या र वैमनस्यजस्ता दुर्गुणलाई त्यागी सहकार्य, समर्पण, सद्भाव र मानवीय संवेदनाको मार्गमा अघि बढ्न दशैंले प्रेरणा दिने बताएका छन्। व्यक्तिको आन्तरिक शुद्धीकरण र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम राख्न विजयादशमीको विशेष महत्व रहेको उनको भनाइ छ।

दशैं पुनर्मिलन र आत्मीयताको महापर्व भएको उल्लेख गर्दै उपराष्ट्रपतिले शिक्षा, रोजगारी, व्यवसाय वा अन्य कारणले परिवार र समुदायबाट टाढा रहेका व्यक्ति यस अवसरमा आफ्ना प्रियजनसँग भेटघाट गरी सम्बन्धको नवीकरण गरिँदै आइएको बताए। 

‘ज्येष्ठको आशीर्वाद, अग्रजप्रतिको सम्मान र कनिष्ठप्रतिको स्नेह आदानप्रदानले पारिवारिक तथा सामाजिक सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्राप्त हुन्छ’, उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘यस अर्थमा विजयादशमी धार्मिक संस्कारमामात्र सीमित नभई सामाजिक एकता र मानवीय सम्बन्धको उत्सवका रूपमा स्थापित भएको छ।’

हाम्रा परम्परागत संस्कार, लोककला, लोकसङ्गीत, सांस्कृतिक अभ्यास तथा सामुदायिक क्रियाकलापले राष्ट्रिय पहिचानलाई समृद्ध बनाएको जनाउँदै उनले यस्ता सांस्कृतिक आयामको संरक्षण र प्रवद्र्धनमा विजयादशमीजस्ता पर्वको महत्वपूर्ण योगदान रहेको बताएका छन्। 

आजको परिवर्तित विश्व परिदृश्यमा सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहअस्तित्वको भावना अझ बढी आवश्यक भएको उल्लेख गर्दै उपराष्ट्रपतिले विभाजन र वैमनस्यताभन्दा माथि उठेर साझा राष्ट्रिय हित, सामाजिक समरसता र समुन्नत नेपालको निर्माणतर्फ अग्रसर हुन विजयादशमीले प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्। 

उपराष्ट्रपतिले विजयादशमी, २०८३ले प्रत्येक नेपाली नागरिकको जीवनमा आशा, ऊर्जा, आत्मविश्वास र सफलताको नयाँ अध्याय प्रारम्भ गराओस् भनी शुभेच्छा व्यक्त गरेका छन्। विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। 

राष्ट्रियसभाका अध्यक्ष दाहालले दिए बडादशैंको शुभकामना

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादशैंले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। 

बडादशैं–२०८३ का अवसरमा आज शुभकामना दिँदै उनले यसपर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, एकता, सहकार्य र भ्रातृत्वको भावना अझ सुदृढ बनाओस् भनी शुभेच्छा प्रकट गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। 

दशैं धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको मौलिक पर्व भएको उल्लेख गर्दै अध्यक्ष दाहालले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रुपमा मनाइने तथा मान्यजनबाट टीका र जमरा ग्रहणसँगै आशिर्वाद लिने परम्पराले पनि यसपर्वको महत्व बढेको बताएका छन्।

‘घटस्थापनादेखि विजयादशमीसम्मका धार्मिक अनुष्ठान, मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा तथा पारिवारिक पुनर्मिलनले हाम्रो सांस्कृतिक विरासत, आत्मीयता र पुस्तान्तरण हुँदै आएका संस्कारलाई जीवन्त बनाएका छन्’ अध्यक्ष दाहालले शुभकामना सन्देशमा भनेका छन्। 

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले समृद्ध राष्ट्र भएको उल्लेख गर्दै उनले नेपालको संविधानले धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता सुनिश्चित गर्नुका साथै सबै समुदायका भाषा, संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा सम्वद्र्धनलाई महत्व दिएको बताएका छन्। सबै धर्म, सम्प्रदाय र समुदायका चाडपर्वप्रति समान सम्मान, सहिष्णुता र सद्भाव राख्दै विविधताभित्रको एकतालाई बलियो बनाउनु सबैको साझा दायित्व भएको उनको भनाइ छ।

खबरपाटी
खबरपाटी