काठमाडौं – मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्चतहका कर्मचारीको बढुवासम्मका निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधनगर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश तथा विपद् सम्बन्धी केही नेपालऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस गरिएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव नवीनराज सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ। त्यसैगरी, नेपाल प्रशासन सेवा समूहीकरणतर्फकोराजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव चक्रबहादुर बुढालाई बढुवा गरिएको छ।
नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई बढुवा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
यससँगै बैठकले कानुनी सुधार, मानव अधिकारसम्बन्धी क्षतिपूर्ति, कूटनीतिक उपस्थिति विस्तार तथा उच्चतहका प्रशासनिक पदमा पदस्थापनसम्बन्धी निर्णय गरेको छ।