रुकुम पश्चिम – प्रहरीमाथि हातपात गरी सरकारी काममा बाधा अवरोध गरेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्। अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका उनका भाइ वीरेन्द्र विकलाई पक्राउ गर्न खोज्ने क्रममा वडाध्यक्ष केशरमानले प्रहरी टोलीसँग विवाद गर्दै गालीगलौज र धकेलाधकेल गरेका थिए। त्यसक्रममा उनले आफ्ना भाइलाई प्रहरीको नियन्त्रणबाट भगाएको र ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्नुका साथै कपडासमेत च्यातिदिएको प्रहरीले जनाएको छ।
वीरेन्द्र विकविरुद्ध अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। उनी मुसिकोट नगरपालिका–१ खलंगा बजारमा लुकीछिपी बसेको सूचनाका आधारमा मंगलबार बिहान प्रहरी टोली खोजतलासमा खटिएको थियो। खोजी गर्ने क्रममा बिहान करिब ९ बजे मुसिकोट नगरपालिका–१ स्थित कालिका मन्दिरनजिक सडकमा वीरेन्द्र र उनका दाइ वडाध्यक्ष केशरमानलाई प्रहरीले फेला पारेको थियो।
प्रहरीका अनुसार ड्युटीमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई हातपात गर्दै कर्तव्य पालनमा बाधा अवरोध गरेपछि केशरमानलाई घटनास्थलबाटै पक्राउ गरिएको हो। पक्राउ परेका वडाध्यक्ष केशरमानलाई जिल्ला प्रशासन कार्यालय, रुकुम पश्चिमबाट ‘राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने’ कसुरमा अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ। उनी हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका वडाध्यक्ष केशरमानविरुद्ध यसअघि पनि अभद्र व्यवहार र ज्यान मार्ने उद्योगलगायतका मुद्दा दर्ता भएका थिए। २०७६ पुस ३ गते आठबिसकोट नगरपालिकाको जाहेरीमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भई जिल्ला प्रशासन कार्यालयको आदेशमा १० हजार रुपैयाँ धरौटीमा छुटेका थिए। त्यस्तै २०७७ असार ५ गते अमृते बोहरासहितको जाहेरीमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएकोमा रुकुम जिल्ला अदालतको आदेशमा एक लाख रुपैयाँ धरौटीमा छुटेको प्रहरी अभिलेखमा उल्लेख छ।
यसैगरी २०७७ माघ ७ गते तारकबहादुर शाहीको जाहेरीमा अभद्र व्यवहारसम्बन्धी अर्को मुद्दा दर्ता भएकोमा जिल्ला प्रशासन कार्यालयको आदेशमा २४ हजार रुपैयाँ धरौटीमा छुटेको प्रहरीले जनाएको छ।