सुर्खेत - कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ सम्म आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि विभिन्न ३२ खेलका प्रस्तावित खेलस्थल तय गरिएको छ।
आइतबार बसेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको बैठकले परिषद्ले अधिकांश खेल सुर्खेतमा सञ्चालन गर्ने प्रस्ताव गरेको छ। प्रदेशका अन्य जिल्लासहित बाँकेको नेपालगन्जमा पनि केही खेल खेलाइनेछ।
मूल आयोजक समितिको प्रस्तावअनुसार एथलेटिक्स, कुस्ती, ब्याडमिन्टन, कबड्डी , बक्सिङ, कराँते, बास्केटबल, फुल कन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, क्रिकेट, फुटबल, ह्याण्डबल, हक्की, ई–स्पोट्र्स, स्क्वास, रग्बी, साइक्लिङ, तेक्वान्दो, भलिबल र उसुको खेलहरु सुर्खेतमा सञ्चालन गर्ने प्रस्ताव छ।
खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताका अनुसार शारीरिक सुगठनका लागि सुर्खेत र कालीकोट, जुडोका लागि सुर्खेत र जाजरकोट तथा जिम्न्यास्टिकका लागि सुर्खेत र दैलेख प्रस्तावित छ। भारोत्तोलनका लागि नेपालगन्ज र सुर्खेत तथा सेपाकताक्रोका लागि सुर्खेतको छिन्चुलाई प्रस्ताव गरिएको छ।
मूल आयोजक समितिले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को संयोजनमा केही खेललाई भने कर्णालीका अन्य जिल्लामा सञ्चालन गर्ने प्रस्ताव गरेको छ। टेबल टेनिसका लागि सल्यान, बुद्धिचालका लागि दैलेख, खो–खोका लागि पश्चिम रुकुमको चौरजहारी तथा आर्चरीका लागि जुम्लालाई प्रस्तावित खेलस्थल तोकिएको छ।
यसैगरी सुटिङ, पौडी र टेनिसका खेल नेपालगन्जमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। कर्णाली प्रदेशमै आयोजना हुने राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक पूर्वाधार, खेलाडी तथा दर्शकको सहजता र खेल सञ्चालनको उपलब्धताका आधारमा विभिन्न स्थान प्रस्ताव गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव मेहताले बाह्रखरीलाई जानकारी दिए।
प्रस्तावित सूचीअनुसार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा केन्द्रित हुनेछन्। सुर्खेतमा एथलेटिक्सदेखि भलिबलसम्म २० खेल आयोजना गर्ने प्रस्ताव गरिएको छ।
सुर्खेतमा प्रस्तावित खेलमा एथलेटिक्स, कुस्ती, ब्याडमिन्टन, कबड्डी, बक्सिङ, कराँते, बास्केटबल, फुल कन्ट्याक्ट कराते, आईटीएफ तेक्वान्दो, क्रिकेट, फुटबल, ह्यान्डबल, हक्की, ई–स्पोट्र्स, स्क्वास, रग्बी, साइक्लिङ, तेक्वान्दो, भलिबल र उसु छन्।
यसका अतिरिक्त शारीरिक सुगठन, जुडो, जिम्न्यास्टिक र भारोत्तोलन पनि सुर्खेतसँगै अन्य स्थानमा सञ्चालन गर्ने प्रस्ताव छ। प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा कर्णाली प्रादेशिक रंगशालालाई केन्द्रमा राखिएको छ।
सात जिल्लासहित नेपालगन्जमा पनि खेल
मूल आयोजक समितिको प्रस्तावले दशौं राष्ट्रिय खेलकुदलाई कर्णालीमा मात्र सीमित नगरी अन्तर प्रदेशमा समेत विस्तार गर्ने प्रस्ताव गरेको छ।
कर्णालीबाहिर बाँकेको नेपालगन्जमा सुटिङ, पौडी, टेनिस तथा भारोत्तोलनका खेल आयोजना गर्ने प्रस्ताव गरिएको हो।
मूल आयोजक समितिले प्रतियोगितामा प्रदर्शनी खेल समावेश गर्ने विकल्पसमेत खुला राखेको छ। प्रस्तावित सूचीमा सह–आयोजक कर्णाली प्रदेशबाट सिफारिस भएबमोजिम उपयुक्त खेललाई प्रदर्शनी खेलका रूपमा समावेश गर्न सकिने छ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएकाले प्रतियोगिताका खेलस्थलको व्यवस्थापन, पूर्वाधारको तयारी, खेलाडी तथा निर्णायकको आवास, यातायात र खेल सञ्चालनका लागि आवश्यक अन्य पूर्वाधारलाई मुख्य चुनौतीका रूपमा हेरिएको छ। प्रस्तावित खेलस्थल टुंगो लागेपछि सम्बन्धित जिल्लामा प्रतियोगिताको तयारी थप तीव्र हुने छ।