नेपाल–भारत सुरक्षा अधिकारीबीच बैठक, सीमा सुरक्षामा सहकार्य बढाउने प्रतिबद्धता

नेपाल–भारत सुरक्षा अधिकारीबीच बैठक, सीमा सुरक्षामा सहकार्य बढाउने प्रतिबद्धता

जनकपुरधाम - नेपाल-भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण र सम्भावित सुरक्षा चुनौतीको सामना गर्न दुवै देशका सुरक्षा अधिकारीहरूले समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। धनुषाको नगराइन नगरपालिका- २ स्थित जटही सीमा नाकामा बिहीबार सम्पन्न कमान्डेन्ट तहको बैठकमा सहमति भएको हो।

खुला सीमाका कारण निम्तन सक्ने तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच समयमै सूचना आदान-प्रदान गर्नुपर्नेमा महानिरीक्षक पौडेलले जोड दिए। ‘दुवै देशको सम्बन्ध कसरी सुदृढ गर्ने र कसरी राम्रो बनाइराख्ने भन्ने विषयमा पनि कुराकानी भएको छ,’ पौडेलले भने।

बैठकमा सीमा सुरक्षा, शान्ति सुव्यवस्था कायम राख्ने तथा नागरिकको सहज आवतजावतलाई व्यवस्थित बनाउँदै दुवै देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा गहन छलफल भएको छ। भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ४८औँ बटालियन, जयनगरद्वारा आयोजित बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय पक्षबाट कमान्डेन्ट राजेन्द्र कुमारले प्रतिनिधित्व गरेका थिए।

बैठकमा नेपालतर्फबाट सशस्त्र प्रहरीका डीआईजी विष्णुबहादुर भट्ट, एसएसपी कमलप्रसाद तिमल्सिनासहितका अधिकारीहरू र भारततर्फबाट एसएसबीका वरिष्ठ अधिकारी रमेशकुमार, अंकुशकुमार तथा धनञ्जय मिश्रको उपस्थिति रहेको थियो।

खबरपाटी
खबरपाटी