वर्षाले बाढीपीडितको अस्थायी टहरामा पानी पस्दा राहत सामग्री जोगाउनै मुस्किल

वर्षाले बाढीपीडितको अस्थायी टहरामा पानी पस्दा राहत सामग्री जोगाउनै मुस्किल

काठमाण्डौ – भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको भदौ १० गते आएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार अहिलेको निरन्तर वर्षाबाट थप समस्यामा परेका छन् ।
खुला ठाउँमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनेको हो ।
टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री जोगाउन समस्या भएको रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोवास गर्दै आएका उत्तरगया गाउँपालिका–१ का वडाध्यक्ष मानसिंह तामाङले बताउनुभयो ।
उहाँका अनुसार खुला ठाउँमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुहिएको पानीसँगै जमिनमा बगेको भल टेन्टभित्र पस्दा थप समस्या भएको छ ।
रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न ठाउँमा बसोवास गर्दै आएका ३४४ परिवारमध्ये १४२ परिवार विदुर नगरपालिका–५ बाणाचौतारोमा अस्थायी टेन्टमा बस्दै आएका छन् ।
टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न र लत्ताकपडा भिजेको तथा ज्येष्ठ नागरिक र बालबालिकालाई थप समस्या भएको खाल्डेबाट विस्थापित भई बाणाचौतारोमा बस्दै आएका दावामिङ्मार तामाङले बताउनुभयो ।
अस्थायी संरचनामा बस्दै आएका प्रभावितको टेन्टमा पानी चुहिन नदिन नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले त्रिपाल उपलब्ध गराएर सहयोग गरिरहेको छ ।
निरन्तरको वर्षाका कारण बाढीले पुरिएका संरचनाको भग्नावशेष हटाएर सामग्री निकाल्ने तथा खोज तथा उद्धारको कामसमेत प्रभावित भएको छ । त्रिशूली बजार तथा त्रिशूली नदीको पारिपट्टि बाढीले पुरिएका संरचनामा भइरहेको खोज तथा उद्धारमा वर्षाले कठिनाइ भएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताउनुभयो ।

खबरपाटी
खबरपाटी