परराष्ट्रमन्त्री शिशिर र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री हुकरको द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर  र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री हुकरको द्विपक्षीय भेटवार्ता

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ता भएको छ ।

न्यूयोर्कमा भएको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढी, राहत तथा पुनर्निर्माणका कार्यलगायतका विषयमा छलफल भएको न्यूयोर्कमा रहेको नेपाली नियोगले जनाएको छ ।

साथै हुकरले भोटेकोशी बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर अर्थात् झण्डै ४ अर्ब ७४ करोड रुपैयाँ बराबर सहयोग गर्ने जानकारी पनि गराउनुभएको छ ।

त्यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोगलगायतका क्षेत्रमा थप सहयोग उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ ।

मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच पुनर्निर्माणका प्रयासमा अमेरिकाको निरन्तर साथ र सहयोगको विषयमा समेत कुराकानी भएको थियो । हुकर र परराष्ट्रमन्त्री खनालबीचको भेट राष्ट्रसंघको ८१औँ महासभाका लागि विश्वका नेताहरू तथा उच्च अधिकारी न्यूयोर्कमा भेला भएका बेला भएको हो ।

यस्तै परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्नुभएको छ । न्यूयोर्कमा आज भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ ।

खबरपाटी
खबरपाटी