गण्डकी – पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ।
सोमबार अन्तिमपटकका लागि सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र संरचनाहरु नहटाए महानगर आफैँले प्रचलित कानुनअनुसार हटाउने र सोबापतको खर्चसमेत सम्बन्धित पक्षबाट असुल गरिने जनाएको छ।
यसअघि गत साउन २० गते सार्वजनिक सूचनामार्फत भदौ १५ गतेभित्र संरचना हटाउन निर्देशन दिइएकामा भोटेकोशी–त्रिशूली बाढीले निम्ताएको विपत्ति र वर्षायामका कारण संरचना हटाउन केही ढिलाइ भएको महानगरले जनाएको छ।
पोखरा–१८ को अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना गत जेठमा महानगर आफैँले डोजर लगाएर हटाए पनि अन्य संरचना अझै यथावत छन्।
मौखिक प्रतिबद्धताअनुसार संरचना नहटाएकामा ध्यानाकर्षण भएको जनाउँदै कबुल गरेबमोजिम संरचना हटाउन महानगरले पटकपटक ताकेता गर्दै आएको छ। समय उपलब्ध गराउँदासमेत हालसम्म प्रतिबद्धताबमोजिम संरचना नहटाइएकामा महानगरले आपत्ति जनाएको छ।
फिर्केखोलाको क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाएर पैदलमार्ग र साइकल लेनसहितको फिर्केखोला करिडोर निर्माण गर्ने महानगरको योजना छ। फिर्केखोलाको संरक्षण र विकास गर्दै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माण गर्ने अभियानमा हातेमालो गर्न महानगरले सबैमा आग्रहसमेत गरेको छ।
बढ्दो अतिक्रमण, प्रदूषण, फोहरमैला व्यवस्थापनमा भएको कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनमा भएको लापर्वाहीले फिर्केखोलाको प्राकृतिकस्वरूप र अस्तित्वमाथि नै चुनौती थपिएकामा संरक्षणकर्मीले चिन्ता व्यक्त गर्दै आएका छन्।