विराट ग्रुपद्वारा बाढीपीडितका लागि ७२ लाख सहयोग

विराट ग्रुपद्वारा बाढीपीडितका लागि ७२ लाख सहयोग

विराटनगर - रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढी तथा प्राकृतिक विपद प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले विराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग गरेको छ।

विराट ग्रुपमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलबस्वरूप सङ्कलित ४७ लाख ५० हजार तथा ग्रुपका अध्यक्ष प्राडा ज्ञानेन्द्र मानसिंह कार्कीको व्यक्तिगत तर्फबाट २४ लाख ५० हजार गरी कुल ७२ लाख उद्धार कोषमा जम्मा गरिएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले जानकारी दिए।

बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विराट ग्रुपले ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस कठिन घडीमा प्रभावित परिवारहरूसँग आफूहरू साथमा रहेको जनाएको छ।

खबरपाटी
खबरपाटी