प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै ६ अर्ब रुपैयाँ सहयोग संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै ६ अर्ब रुपैयाँ सहयोग संकलन

काठमाण्डौ — विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ । बाढी प्रभावितको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकारी निकायदेखि निजी क्षेत्र र विभिन्न संघसंस्था तथा सर्वसाधारण नागरिकले सहयोग गरिरहेका छन् ।

पछिल्लो विवरणअनुसार बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै ६ अर्ब रुपैयाँ सहयोग संकलन भएको छ । बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न आह्वान गरेसँगै कोषमा देशभित्र र विदेशबाट सहयोग आउने क्रम बढेको हो ।

बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणसम्मका लागि यो रकम परिचालन गरिने सरकारले जनाएको छ । बाढीपछि मात्रै संकलन भएको झण्डै ६ अर्ब रुपैयाँबाहेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यसअघि नै २ अर्ब ८ करोड रुपैयाँ मौज्दात रहेको थियो ।

पछिल्लो सहयोग रकम र यसअघिको मौज्दात जोड्दा कोषमा ८ अर्ब रुपैयाँभन्दा बढी रकम पुगेको छ । सरकारले कोषमा जम्मा भएको रकम पारदर्शी र प्रभावकारी रूपमा परिचालन गर्ने जनाएको छ । बाढीबाट प्रभावित नागरिकका लागि निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, विभिन्न संघसंस्था, राजनीतिक दल, स्थानीय तह, कर्मचारी तथा सर्वसाधारणले समेत आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् ।

विदेशमा रहेका नेपाली तथा विभिन्न अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग जुटाउने प्रयास भइरहेको छ । सरकारले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतसँगै पुनःस्थापनाको काम अघि बढाउने र आवश्यकताअनुसार पुनर्निर्माणका लागि थप स्रोत परिचालन गर्ने जनाएको छ ।

 

खबरपाटी
खबरपाटी