काठमाडौं । भोटेकोशी तथा त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीको पहलमा ताजा तरकारी तथा खाद्य सामग्री पठाइएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको समन्वयमा कालीमाटी र बालाजु बजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरूको सहयोगमा राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको हो।
व्यवसायीहरूले भदौ १३ गते करिब ३ हजार किलो र भदौ १४ गते करिब २ हजार ५ सय किलो ताजा तरकारी, करिब २० बोरा आलु र एक बोरा प्याज आफ्नै सवारीसाधनमार्फत त्रिशूलीस्थित नेपाली सेनाको गणसम्म पुर्याएका थिए।
यसैगरी, करिब २ हजार ८ सय किलो ताजा तरकारी, आलुलगायत खाद्य सामग्री लिएर व्यवसायीहरूको अर्को टोली पनि बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई आवश्यक खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले मन्त्री चौधरीको पहलमा सरकारी निकाय, व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय गरी राहत सहयोगलाई निरन्तरता दिइएको जनाइएको छ।