काठमाडौं - उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि सतर्कता अपनाइएको भए पनि हाललाई ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवा र नुवाकोटबाट प्राप्त पछिल्लो विवरण अनुसार नुवाकोट क्षेत्रमा नदीको जलसतह केही बढे पनि बाढी सामान्य अवस्थामै रहेको छ।
महाशाखाले बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङसम्मको नदी तटीय क्षेत्रमा हाललाई ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ।
यसअघि बिहान भोटेकोशी नदीमा ठूलो आवाजसहित बाढी आएको सूचना पाएपछि तटीय क्षेत्रमा सतर्कता अपिल गरिएको थियो। स्थिति सामान्यतर्फ फर्किए पनि जल तथा मौसम विज्ञान विभाग र सुरक्षा निकायले नदीको जलसतहको निरन्तर अनुगमन गरिरहेका छन्।
बाढीको जोखिम घटेसँगै नारायणगढ–पोखरा र काठमाडौँ सडक खुल्यो
रसुवामा बाढी–पहिरोको जोखिम घटेसँगै नारायणगढ–मुग्लिन तथा मुग्लिन–पोखरा÷काठमाडौँ सडक खण्ड पुनः सञ्चालनमा आएका छन्। बाढीको जोखिमलाई मध्यनजर गर्दै रोकिएका सवारी साधन अवस्था सामान्य भएपछि पूर्ण रूपमा सञ्चालन गरिएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट पोखरा, मुग्लिन हुँदै काठमाडौंतर्फ जाने र आउने सबै किसिमका सवारी साधनहरूको आवगमन सुचारु भएको छ। यसअघि भोटेकोशी नदीमा बाढी आएको सूचनाका आधारमा सम्भावित जोखिम रोक्न सडक आवागमन बन्द गरिएको थियो।
राजमार्ग खुले पनि जोखिमयुक्त स्थानमा होसियार रहन, सम्बन्धित निकायको निर्देशन पालना गर्न र यात्रा गर्दा सुरक्षालाई पहिलो प्राथमिकता दिन चितवन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।