भोटेकोशी बाढी : सम्पर्कविहीनको खोजीमा सम्पूर्ण शक्ति परिचालन गरिएको छ : मन्त्री श्रेष्ठ

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोजीमा सम्पूर्ण शक्ति परिचालन गरिएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा सर्वसाधारणको खोज तथा उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ।

मन्त्री श्रेष्ठले उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरेर खोज तथा उद्धार कार्य अघि बढाइएको जानकारी दिँदै प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण अपेक्षित सफलता हासिल गर्न कठिन भइरहेको बताउनुभयो।

सम्पर्कविहीन कर्मचारीका परिवारजनसँग मन्त्रालयमै भेट गर्दै उहाँले उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताउनुभयो। संकटका बेला पीडित परिवारलाई उद्धारको अवस्थाबारे नियमित, यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउनु राज्यको महत्वपूर्ण दायित्व भएको उहाँको भनाइ छ।

‘परिवारजनसँग सम्पर्क नहुँदाको पीडा मैले महसुस गरिरहेको छु। हामीलाई प्रत्येक सेकेन्ड महत्वपूर्ण छ। नागरिक तथा कर्मचारीको जीवनरक्षाका लागि सरकारले कुनै कसर बाँकी राखेको छैन,’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘तर, काबुबाहिरको परिस्थितिमा सरकारले चाहेर पनि धेरै कुरा गर्न कठिन भइरहेको छ।’

बाढीपछि मन्त्रालयले उद्धार, समन्वय तथा पुनःस्थापनाका लागि विभिन्न कमाण्ड तथा कार्यसंयन्त्रमार्फत काम गरिरहेको जनाएको छ। सुरक्षा निकायसँगको समन्वयमा उद्धार कार्य तीव्र पारिए पनि कठिन भौगोलिक अवस्था र जोखिमका कारण अपेक्षित उपलब्धि हासिल गर्न चुनौती देखिएको मन्त्री श्रेष्ठले बताउनुभयो।

केन्द्रीय तहमा मन्त्री श्रेष्ठले अन्तरमन्त्रालय समन्वय, सहजीकरण तथा आवश्यक स्रोत व्यवस्थापनको नेतृत्व गरिरहनुभएको छ। मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित उच्च अधिकारीहरू प्रभावित क्षेत्रमा पुगेर उद्धार, पुनःस्थापना, समन्वय तथा स्रोत परिचालनमा खटिएका छन्।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको शनिबार रातिको बैठकमा मन्त्री श्रेष्ठले विपद्का समयमा उद्धारसँगै प्रभावकारी सूचना प्रवाह र समन्वयलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

फिल्डमा कर्मचारी, उद्धारकर्मी तथा सुरक्षाकर्मीले युद्धस्तरमा काम गरिरहेको भए पनि त्यसको यथार्थ विवरण समयमै सम्बन्धित परिवारसम्म पुग्न नसक्दा पीडित परिवारमा थप अन्योल र पीडा उत्पन्न भएको उहाँले बताउनुभयो।

उद्धार तथा पुनःस्थापनासम्बन्धी सूचना नियमित रूपमा परिवारसम्म पुर्‍याउने संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले राहत तथा उद्धार सामग्री व्यवस्थापनका लागि स्पष्ट कार्यढाँचा आवश्यक रहेको बताउनुभयो। वास्तविक आवश्यकता र उपलब्ध आपूर्तिबीच सन्तुलन कायम गरेर राहत व्यवस्थापन गर्नुपर्ने उहाँको धारणा छ।

ऊर्जा मन्त्रालयले उद्धार कार्यसँगै बाढीबाट प्रभावित विद्युत् प्रणाली तथा आवश्यक पूर्वाधारको पुनःस्थापनालाई समेत प्राथमिकताका साथ अघि बढाइरहेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो।

 

खबरपाटी
खबरपाटी