भोटेकोशी बाढीः ४१ पुल ध्वस्त, भारत र चीनले आवश्यकताअनुसार बेलिब्रिज दिने

भोटेकोशी बाढीः ४१ पुल ध्वस्त, भारत र चीनले आवश्यकताअनुसार बेलिब्रिज दिने

काठमाडौं - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

बाढीले वेत्रावती–मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडकखण्ड ठप्प पारेको हो। यस्तै गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक पनि बन्द छ।

पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडकखण्ड लेदोले ढाकिएको छ। अहिले लेदो पन्छाएर यातायात सुचारु गराउने कार्यलाई प्राथमिकतामा राखिएको सडक विभागले जनाएको छ।

बाढीले नेपाल–चीन जोड्ने प्रमुख नाका क्षेत्रका ४१ वटा पुल पूर्ण रूपमा ढालेको छ। सरकारसँग अहिले ५० मिटरसम्म लम्बाइका ७ वटा मात्रै बेलिब्रिज मौज्दात छन्। आवश्यकता र सम्भाव्यता अध्ययन गरी ती बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ। बाँकी क्षतिग्रस्त स्थानका लागि भारत र चीन सरकारले तत्काल बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई पुनः सडक सञ्जालमा जोड्ने गरी द्रुत गतिमा काम अघि बढाइएको छ। जसका लागि वेत्रावतीमा बेलिब्रिज हाल्ने तयारी छ। वेत्रावतीसम्मको सडक नखुलेसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्नसक्ने अवस्था छैन।

सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारी १० र निजी क्षेत्रका १० गरी २० वटा भारी उपकरण परिचालन गरिएको छ। सरकारले क्षति भएका सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ।

खबरपाटी
खबरपाटी