काठमाडौं । नेपालको भोटेकोसीमा आएको विनाशकारी बाढीलाई एक ‘विशाल भूभौतिकीय घटना’ र त्यसपछि उत्पन्न शृंखलाबद्ध प्रतिक्रियाका कारण भएको वैज्ञानिकहरूले बताएका छन् ।
एबीसी न्युजका अनुसार अमेरिकाको कोलम्बिया युनिभर्सिटीको लामन्ट–डोहर्टी अर्थ अब्जर्भेटरीका भूभौतिकविद् प्रोफेसर गोरान एकस्ट्रोमका अनुसार हिमाली भिराले क्षेत्रमा गएको भीषण पहिरोले ठूलो हिमनदी वा त्यसको मुख्य भागलाई बगाएर लगेको थियो । उक्त पहिरो यति शक्तिशाली थियो कि त्यसबाट उत्पन्न कम्पन विश्वभरका सिस्मोग्राफमा ५.२ म्याग्निच्युडको भूकम्पका रूपमा दर्ता भएको उनले बताएका छन् ।
प्रोफेसर एकस्ट्रोमले पहाडबाट तीव्र गतिमा खसेका चट्टानहरूले ठूलो ऊर्जा उत्पन्न गर्दा हिमनदी पग्लिएको र त्यसका कारण पहाडको फेदीबाट ठूलो मात्रामा लेदोसहितको पानी बगेको बताए ।
भूभौतिकविद् प्रोफेसर एकस्ट्रोमका अनुसार हिमाली क्षेत्रमा यसअघि पनि यस्ता घटनाहरू हुने गरे पनि यो एक विशाल भूभौतिकीय घटना भएकोमा जोड दिएका छन् ।
प्रोफेसरका अनुसार पहाडबाट चट्टानहरू तल खस्दा अत्यधिक ऊर्जा उत्पन्न भई तातो बनाउँछ, जसले गर्दा हिमनदी पग्लिन पुग्छ, यही कारण पहाडको फेदीमा त्यति धेरै पानी खसेको हुनसक्छ ।
उपत्यकामा खसेको हिउँ, लेदो र पानीको सतह असाधारण रूपमा उच्च रहेको भन्दै उनले करिब १३० देखि १६० फिटसम्म पुगेको तथा पानी प्रतिघण्टा करिब ४४ माइलको गतिमा बगेको अनुमान गरिएको छ ।
प्रोफेसर एकस्ट्रोमले जलवायु परिवर्तनका कारण विश्वभर हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । यस्ता पहिरो प्राकृतिक रूपमा हुने भए पनि जलवायु परिवर्तनले यस्ता घटनाको आवृत्ति र तीव्रता बढाउन सक्ने उनको निष्कर्ष छ ।