काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ वटा ट्रकमार्फत झण्डै ८ टन राहत सामग्री पठाइएको छ । सेनाका गाडी हिजो राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो ।
प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट र ३० केभिए क्षमताको एक थान जेनेरेटरलगायत छन् ।
बाढी प्रभावित नागरिकलाई तत्काल राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले आवश्यक सामग्री नेपाली सेनाका ट्रकमार्फत राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो । सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइरहेको जनाएको छ ।
यसैबीच रसुवा भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ लाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।
यसअघि भारतीय विदेशमन्त्री डा.एस जयशङ्करले सामाजिक सञ्जालमार्फत रसुवा बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी दिनुभएको थियो ।
विदेशमन्त्री जयशङ्करले बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली नागरिकको साथमा रहेको बताउनुभएको छ ।