भोटेकोशी बाढी : निजी हेलिकप्टर उडान सरकारी समन्वयमा मात्र सञ्चालन हुने

भोटेकोशी बाढी : निजी हेलिकप्टर उडान सरकारी समन्वयमा मात्र सञ्चालन हुने

काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई अब सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न निर्देशन दिइएको छ।

प्रभावित क्षेत्रमा विभिन्न निकाय तथा निजी क्षेत्रबाट आफ्नै हिसाबले हेलिकप्टर सञ्चालन हुँदा हवाई ट्राफिक बढ्न गई दुर्घटना तथा अन्य प्राविधिक जोखिम उत्पन्न हुन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो व्यवस्था गरेको हो।

प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै हेलिकप्टरमार्फत खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा सम्बन्धित जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित रूपमा कार्य अघि बढाउन निर्देशन दिएको छ।

नेपाली सेनाको हेलिकप्टर आवश्यक परेमा जिल्ला सुरक्षा समितिले सम्बन्धित जिल्लामा रहेको नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्नेछ। निजी हेलिकप्टर आवश्यक परेको अवस्थामा भने प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिमार्फत तत्काल उद्धारको व्यवस्था मिलाइने जनाइएको छ।

निजी हेलिकप्टर व्यवस्थापन तथा समन्वयका लागि प्राधिकरणले हेली एभरेस्टका सचित अर्याल, अल्टिच्युड एयरका मिङ्मा शेर्पा र एयर डाइनेस्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ।

प्राधिकरणले प्रभावित क्षेत्रमा जथाभावी हेलिकप्टर उडान हुँदा हुन सक्ने सम्भावित दुर्घटना, हवाई ट्राफिक व्यवस्थापन र अन्य प्राविधिक समस्यालाई मध्यनजर गर्दै उद्धार उडानलाई एकीकृत र व्यवस्थित बनाउन यो निर्णय गरेको जनाएको छ।

 

खबरपाटी
खबरपाटी