भोटेकोशी बाढीपछि सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

भोटेकोशी बाढीपछि सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले निम्त्याएको विपद्को समयमा विपक्षी दलले सरकारलाई आवश्यक सहयोग र साथ दिने प्रतिबद्धता जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा बोल्दै प्रतिनिधिसभामा विपक्षी दलका नेता भिष्मराज आङ्दाम्बेले संकटको घडीमा पक्ष–विपक्षभन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताउनुभएको हो।

उहाँले विपद्को अवस्थामा सरकारले तत्कालै सक्रियता देखाएकोमा धन्यवाद व्यक्त गर्दै उद्धार, राहत तथा व्यवस्थापनका काममा विपक्षी दलको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

‘यो संकटको घडीमा पक्ष–विपक्षभन्दा माथि उठेर सबै एकजुट भएर काम गर्नुपर्छ,’ उहाँले बैठकमा भन्नुभयो।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीले अहिलेसम्म पुर्‍याएको क्षतिको विवरणबारे सम्बन्धित निकायले ब्रिफिङ गरेका थिए।

बैठकमा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला सबै निकायलाई सक्रियतापूर्वक जुट्न निर्देशन दिनुभएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न जोखिम र क्षतिको अवस्था व्यवस्थापनका लागि सरकार, सुरक्षा निकाय तथा सम्बन्धित निकायहरू परिचालन भएका छन्।

खबरपाटी
खबरपाटी