रसुवा बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र आपत्कालीन टेन्ट पठाउने

रसुवा बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र आपत्कालीन टेन्ट पठाउने

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आवश्यक औषधि, स्वास्थ्य उपकरण तथा आपत्कालीन टेन्ट पठाउने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको समन्वयपछि डब्ल्युएचओले करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण प्रभावित क्षेत्रमा पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी २४ वर्गमिटरका १५ वटा आपत्कालीन टेन्ट समेत पठाउने तयारी गरिएको छ।

बाढीबाट प्रभावित तथा घाइतेको उपचारका लागि सरकारले काठमाडौंस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याएको मन्त्रालयले जनाएको छ। बाढी प्रभावित क्षेत्रबाट हालसम्म तीन जना घाइतेलाई उद्धार गरी काठमाडौं ल्याइएको पनि मन्त्रालयको भनाइ छ।

आपत्कालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन काठमाडौंस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयसँग समेत समन्वय भइरहेको छ।

त्यसैगरी नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउट लगायतका संस्थासँग पनि उद्धार तथा आपत्कालीन स्वास्थ्य सेवाका लागि सहकार्य भइरहेको मन्त्रालयले जनाएको छ।

सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै स्वास्थ्य सेवा, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई परिचालन गरेको जनाएको छ।

खबरपाटी
खबरपाटी