काठमाण्डौ — दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० का अनुसार हरेक वर्ष अगस्ट २३ तारिखमा यो दिवस मनाइन्छ । दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नुपरेको पीडा तथा दासत्व उन्मूलनका लागि भएका सङ्घर्षको स्मरण गर्दै दास व्यापारविरुद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य हो ।
सन् १७९१ मा अहिलेको हाइटीको सेन्ट–डोमिङ्गमा अगस्ट २२ देखि २३ को रातमा सुरु भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो । युनेस्कोका अनुसार यो दिवस पहिलोपटक सन् १९९८ मा हाइटीमा तथा सन् १९९९ मा सेनेगलको गोरे द्वीपमा मनाइएको थियो ।
त्यसपछि यो दिवस दास व्यापार तथा दासत्वको इतिहासबारे स्मरण, अध्ययन र जनचेतना अभिवृद्धि गर्ने अन्तर्राष्ट्रिय अवसरका रूपमा विकसित भएको छ ।
दिवसले दास व्यापार तथा दासत्वका कारण उत्पन्न ऐतिहासिक अन्याय र त्यसको दीर्घकालीन प्रभावबारे नयाँ पुस्तालाई जानकारी गराउँदै मानवअधिकार, स्वतन्त्रता, समानता र मानवीय मर्यादाको सम्मानका लागि प्रतिबद्ध हुन आह्वान गर्छ ।
युनेस्कोले दास व्यापार तथा दासत्वको इतिहासलाई स्मरण गर्नु विगतप्रतिको सम्मान मात्र नभई विभेद, जातीय पूर्वाग्रह तथा अमानवीय व्यवहारका सबै स्वरूपविरुद्ध वर्तमान र भविष्यमा सचेत रहनसमेत आवश्यक रहेकोमा जोड दिँदै आएको छ ।