काठमाडौं - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज बिहान ७ बजे आफ्नै सचिवालयको टोली तथा समाज कल्याण परिषद्को टोलीसहित भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा मन्त्री बादीले भृकुटीमण्डप परिसरमा सञ्चालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको स्थलगत निरीक्षण गर्नुभएको हो। उहाँले खसी बजार, तरकारी बजार, गार्डेन हल, विभिन्न स्टल तथा प्रदर्शनी र व्यापारिक क्षेत्र, खुला तथा हरित क्षेत्र, पार्किङ, सरसफाइ, सार्वजनिक शौचालय, पैदल आवागमन क्षेत्र तथा परिसरमा सञ्चालन भइरहेका अन्य गतिविधिबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो।
मन्त्री बादीले परिसरमा रहेका विभिन्न संरचना तथा क्षेत्रको उपयोग, व्यवस्थापनको अवस्था, व्यापार तथा सेवा सञ्चालनको प्रकृति, आम्दानी र त्यसबाट राज्य तथा नागरिकले प्राप्त गरिरहेको लाभका विषयमा सम्बन्धित अधिकारी तथा व्यवस्थापन पक्षसँग जानकारी लिनुभएको थियो।
काठमाडौंको केन्द्रमा रहेको महत्वपूर्ण सार्वजनिक सम्पत्तिका रूपमा भृकुटीमण्डपलाई वर्तमान स्वरूपमै सीमित नराखी उपलब्ध क्षेत्र र संरचनाको अधिकतम सदुपयोग हुने गरी व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी तथा नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढाउन मन्त्री बादीले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
“भृकुटीमण्डपको क्षेत्र ठूलो छ, सम्भावना पनि ठूलो छ। अहिले सञ्चालनमा रहेका सबै गतिविधि र संरचनाको अवस्था हेरेर कहाँ सुधार आवश्यक छ र यसलाई नागरिकका लागि अझ उपयोगी कसरी बनाउन सकिन्छ भन्ने विषयमा समग्र अध्ययन आवश्यक छ,” मन्त्री बादीले भन्नुभयो।
उहाँले भृकुटीमण्डपमा रहेका विद्यमान संरचना र गतिविधिलाई व्यवस्थित गर्दै बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार, व्यवस्थित प्रदर्शनी तथा कार्यक्रमस्थल, खुला तथा हरित क्षेत्र, सार्वजनिक पुस्तकालय, सामाजिक सेवाका संरचना, पार्किङ, सरसफाइ तथा फोहोर व्यवस्थापनलगायत विषयलाई प्राथमिकतामा राखेर सम्भाव्यता अध्ययन गर्न निर्देशन दिनुभएको छ।
मन्त्री बादीले भृकुटीमण्डपमा विगतमा भएका अध्ययन, योजना तथा डीपीआरहरूको समेत समीक्षा गरी वर्तमान अवस्था, आवश्यकता र सम्भावनाका आधारमा आगामी कार्यदिशा तय गर्नुपर्ने बताउनुभएको छ।
सार्वजनिक सम्पत्तिको संरक्षणसँगै त्यसको प्रभावकारी उपयोग र पारदर्शी व्यवस्थापनमा जोड दिँदै मन्त्री बादीले भन्नुभयो, “सरकारी सम्पत्ति संरक्षण गरेर मात्र पुग्दैन, त्यसको सदुपयोगबाट नागरिकले प्रत्यक्ष लाभ पाउने वातावरण बनाउनुपर्छ।”
भृकुटीमण्डपको समग्र विकाससम्बन्धी अध्ययनमा परिसरमा सञ्चालन भइरहेका बजार, व्यापारिक तथा प्रदर्शनी गतिविधि, सार्वजनिक सेवा, पूर्वाधार, सरसफाइ, पार्किङ, वातावरणीय अवस्था, नागरिक पहुँच, आर्थिक सम्भाव्यता र दीर्घकालीन व्यवस्थापनलगायत पक्षलाई समेटिने बताइएको छ।