स्वास्थ्य उपचारमा एकरूपता ल्याउन मानक उपचार प्रोटोकललाई स्वास्थ्य बीमासँग जोड्ने तयारी

स्वास्थ्य उपचारमा एकरूपता ल्याउन मानक उपचार प्रोटोकललाई स्वास्थ्य बीमासँग जोड्ने तयारी

काठमाडौं - देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सर्वसुलभ बनाउने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत छलफल भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगको उपचारमा एकरूपता कायम गर्न जारी गरिएका **मानक उपचार प्रोटोकल (एसटीपी)**लाई स्वास्थ्य बीमासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो।

छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डा. पवनजंग रायमाझीसहित पेडियाट्रिक, न्युरोलोजी, कार्डियोलोजी, हेमोफिलिया, ओरल हेल्थ, ईएनटीलगायत १८ क्षेत्रका विशेषज्ञ चिकित्सक सहभागी थिए।

विशेषज्ञ चिकित्सकहरूले आ–आफ्नो क्षेत्रमा प्रयोग भइरहेका उपचार प्रोटोकलका व्यावहारिक पक्ष, देखिएका समस्या तथा सुधारका उपायबारे सुझाव दिएका थिए। विभिन्न विभाग तथा महाशाखाले छुट्टाछुट्टै रूपमा प्रोटोकल निर्माण गर्दा समन्वयको अभाव देखिएकाले त्यसलाई समाधान गर्नुपर्नेमा समेत उनीहरूले जोड दिएका छन्।

डा. रायमाझीका अनुसार आवश्यकता पहिचान गरी हालसम्म १९ वटा मानक उपचार प्रोटोकल तयार गरिएका छन्। तीमध्ये केही स्वीकृत भएर कार्यान्वयनमा आइसकेका छन् भने केही प्रक्रियामै रहेका छन्। कार्यान्वयनमा रहेका प्रोटोकललाई समेत समयअनुकूल परिमार्जन गर्दै उपचारमा एकरूपता कायम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

बैठकमा बिरामीको परीक्षणका क्रममा आवश्यकताभन्दा बढी सीटी स्क्यान, एमआरआईलगायत महँगा परीक्षण सिफारिस हुने अवस्थाबारे समेत छलफल भएको थियो। चिकित्सकले आवश्यकताका आधारमा मात्रै परीक्षण सिफारिस गर्ने गरी स्पष्ट र प्रभावकारी प्रोटोकल बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

मानक उपचार प्रोटोकलको प्रभावकारी कार्यान्वयन तथा समयानुकूल परिमार्जनले अनावश्यक परीक्षण र महँगा औषधिको प्रयोग घटाउने अपेक्षा गरिएको छ। यसबाट बिरामीको उपचार खर्च कम हुनुका साथै सरकारी स्वास्थ्य बीमा कार्यक्रममाथिको अनावश्यक आर्थिक भार घटाउन र सरकारी स्रोतको दुरुपयोग रोक्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

छलफलले स्वास्थ्य उपचारलाई थप व्यवस्थित, प्रमाणमा आधारित र नागरिकमैत्री बनाउँदै स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।

खबरपाटी
खबरपाटी