काठमाडौं - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र UNFPA का प्रतिनिधि श्रीराम हरिदासबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा महिला तथा बालबालिकाको संरक्षण, लैङ्गिक समानता, सामाजिक न्याय तथा सीमान्तीकृत समुदायको सशक्तीकरणका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा छलफल भएको छ।
भेटका क्रममा मन्त्री बादीले नेपालमा लैङ्गिक समानता, प्रजनन स्वास्थ्य अधिकार तथा महिला, बालबालिका र किशोरकिशोरीको संरक्षणका क्षेत्रमा UNFPA ले विगत पाँच दशकदेखि पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले मन्त्रालय र UNFPA बीचको दीर्घकालीन साझेदारीलाई आगामी दिनमा अझ सुदृढ गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने परिणाममा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो।
मन्त्री बादीले लैङ्गिक हिंसा, घरेलु हिंसा, बालविवाह तथा सामाजिक हानीकारक अभ्यास र कुप्रथाको अन्त्य मन्त्रालयको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। महिला तथा किशोरीका लागि सुरक्षित गृह, एकद्वार संकट व्यवस्थापन केन्द्र, किशोरी सशक्तीकरण तथा लैङ्गिक हिंसाविरुद्ध प्रतिकार्य प्रणाली निर्माणमा UNFPA ले गर्दै आएको प्राविधिक सहयोग महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो।
भेटमा सीमान्तीकृत तथा आर्थिक र सामाजिक रूपमा पछाडि परेका समुदायका महिलालाई आत्मनिर्भर, सक्षम र सशक्त बनाउन सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा नेतृत्व विकासका अवसरमा पहुँच विस्तार गर्ने विषयमा विशेष छलफल भएको थियो। सामाजिक न्याय र समावेशी शासनलाई प्रभावकारी बनाउन राज्यका अवसर तथा सेवामा यस्ता समुदायको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो।
त्यसैगरी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकारको संरक्षण, सबै प्रकारका भेदभावको अन्त्य तथा स्वास्थ्य सेवा, सामाजिक सेवा र कानुनी संरक्षणमा समान र सहज पहुँच सुनिश्चित गर्ने विषयमा समेत सहकार्य विस्तार गर्नेबारे छलफल भएको थियो।
मन्त्री बादीले नेपाल र UNFPA बीचको सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी प्रविधि तथा नीति अनुभव आदानप्रदान, संस्थागत क्षमता विकास र विशेषज्ञता हस्तान्तरणमार्फत पारस्परिक साझेदारीका रूपमा थप विस्तार गर्न सकिने बताउनुभयो। महिला, बालबालिका तथा सामाजिक विकासका क्षेत्रमा UNFPA को विशेषज्ञता र अनुभवलाई आगामी सहकार्यको महत्वपूर्ण आधार बनाउँदै थप प्रभावकारी कार्यक्रम अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।