प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री शाहको विरोध, सीमासम्बन्धी अभिव्यक्तिप्रति विपक्षीको आपत्ति

प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री शाहको विरोध, सीमासम्बन्धी अभिव्यक्तिप्रति विपक्षीको आपत्ति

काठमाडौं - प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध भएको छ। बैठक सुरु भएको घोषणा गर्नासाथ विपक्षी दलका सांसदहरूले उठेर प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति विरोध जनाएका हुन्।

सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै विपक्षी दलका सांसदहरू उठेपछि सभामुखले उनीहरूलाई आफ्ना धारणा राख्न समय दिएका थिए।

बैठकमा बोल्दै सांसदहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। उनीहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सच्याउनुपर्ने र संसद्मा स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्।

गत जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले दिएको उक्त अभिव्यक्तिपछि विपक्षी दलका सांसदहरूले निरन्तर संसद्मा विरोध गर्दै आएका छन्।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे अहिलेसम्म स्पष्टीकरण नदिएको भन्दै आपत्ति जनाएका छन्। प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका कारण संसद्को बैठकमा समेत पटक–पटक विरोध हुँदै आएको उनीहरूको भनाइ छ।

यसैबीच, सभामुख अर्यालले पनि प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन नदिएको विषयमा विपक्षी सांसदहरूले प्रश्न उठाउँदै आएका छन्। प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा स्पष्टता नआएसम्म आफूहरूको विरोध जारी रहने उनीहरूको संकेत छ।

खबरपाटी
खबरपाटी