प्रधानमन्त्री बालेन्द्र शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच शिष्टाचार भेट

प्रधानमन्त्री बालेन्द्र शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच शिष्टाचार भेट

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटवार्तामा नेपाल–चीनबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने तथा विकास साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हित र आपसी चासोका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो।

उहाँले दुई देशबीचको सहकार्यले आर्थिक विकास, पूर्वाधार, व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको बताइएको छ।

त्यस अवसरमा राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै नेपाल र चीनबीचको आपसी सम्बन्ध, मित्रता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाउनुभएको थियो।

दुवै पक्षले आपसी सम्मान, सहकार्य र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप उचाइमा पुर्‍याउने विषयमा सकारात्मक धारणा व्यक्त गरेका छन्।

खबरपाटी
खबरपाटी