२०औं एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

२०औं एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ - जापानको आइची नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने प्रतियोगितामा ५६ जना महिला र ८० पुरुष खेलाडी गरी कुल १३६ खेलाडीले सहभागिता जनाउने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। २०२६ को एसियाली खेलकुदमा २२ खेलका कुल ३२ प्रशिक्षक गरी जम्मा १६८ जना सहभागी हुने राखेपले जनाएको छ। एसियाली खेलकुदमा छनोट भएर पनि ई स्पोर्टस् भने जापान जाने सूचीमा समावेश हुन सकेन । 

सहभागी हुने खेल 
२०औँ एसियाली खेलकुदमा अहिलेसम्म पदक जितेका खेलहरु तेक्वान्दो, कराँते, बक्सिङ र कबड्डीसँगै आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, क्यानोइ स्लालोम, क्रिकेट, साइक्लिङ, डान्स एण्ड स्पोर्टस्, गल्फ, जुडो, स्केटबोर्ड, सफ्ट टेनिस, पौडी, उसु, कुस्ती, भारोत्तोलन, टेबलटेनिस, भलिबल, स्क्वास, टेनिस गरी २२ खेलमा सहभागीता जनाउँदैछ। 

कुन खेलमा कति खेलाडी 

टिम खेल अन्तर्गत नेपालले कबड्डी, क्रिकेट र भलिबलमा मात्र सहभागिता जनाउँदै छ भने १९ वटा खेलमा व्यक्तिगत प्रतिस्पर्धा गर्दैछ। जसमा  कबड्डीको पुरुष र महिला दुवै टिममा गरेर सर्वाधिक २४ जना खेलाडी छन्। त्यस्तै पुरुष क्रिकेटमा १५ र महिला भलिबलमा १२ जना खेलाडी छन् । 

आर्चरीमा १ महिला र १ पुरुष गरी २ जना , एथलेटिक्समा २ जना महिला र ४ जना पुरुष गरी ६ खेलाडीले सहभागिता जनाउनेछन् ।ब्याडमिन्टनमा २-२ जना पुरुष महिला गरी ४ जना खेलाडी, बक्सिङमा ३ महिला र ४ पुरुष गरी ७ जना खेलाडीले आइची नागोयामा भाग लिन लाग्दा साइकलिङमा १–१ जना महिला पुरुष गरी २ जना सहभागी हुनेछन्। 

यसैगरी गल्फमा १ महिला र ३ पुरुष गरी ४ जना खेलाडीले सहभागीता जनाउँदा कराँतेबाट ५ पुरुष र ३ जना महिला गरी ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। जुडोमा ३–३ जना महिला र पुरुष खेलाडी गरी कुल ६ जनाले खेलको परिक्षा दिनेछन् । 

यसैगरी तेक्वान्दोमा २, क्रिकेटमा १५, डान्स एन्ड स्पोर्टस्मा १ , स्केटबोर्ड र क्यानोइ स्लालोममा २-२ जना पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् भने भलिबलमा नेपालको महिला टिमले मात्र प्रतिस्पर्धा गर्नेछ। सफ्ट टेनिसमा १ पुरुष र ३ महिला गरी ४ जनाले भाग  लिनेछन् भने स्क्वासमा १ पुरुष र १ महिला गरी २ जना खेलाडीले सहभागिता जनाउनेछन्।

पौडीमा २ पुरुष र ३ महिला गरी ५ खेलाडी , टेबल टेनिसमा ३–३ जना महिला पुरुष गरी ६ जना खेलाडी, टेनिसमा २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीको सहभागिता रहनेछ। यस्तै कुस्तीमा २ महिला र ४ पुरुष गरी ६ जना तथा उसुतर्फ ३ महिला र ८ पुरुष गरी ११ जना खेलाडीको सहभागिता हुनेछ । प्रतियोगितामा ३२ जना प्रशिक्षक सहभागी हुनेछन्। 

व्यक्तिगत खेल तर्फ उसुबाट सबैभन्दा ११ खेलाडी सहभागि हुनेछन् भने डान्स स्पोर्टमा सबैभन्दा कम १ खेलाडी मात्र छन्। 
सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले २९ खेलमा २५३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा करातेकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जित्दा पहिलो पल्ट टिम गेममा नेपालले पदक ल्याएको थियो। नेपाली महिला कबड्डी टिमले कांस्य पदक जितेको थियो। 

अहिलेसम्म ३ रजत र २३ कास्य

१९८६ को १० औँ एसियाडबाट निरन्तर पदक जितीरहेको नेपालले अहिलेसम्म स्वर्ण पदक भने जित्न सकेको छैन। नेपालले अहिलेसम्म ३ रजत र २३ कास्य पदक जितिसकेको छ। आईची नागोयामा हुने २० औँ संस्करणमा नेपालले स्वर्ण पदकसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य लिएको छ। नेपालले हालसम्म तेक्वान्दोबाट १ रजत र १३ कास्य पदक जित्दा कराँतेले पनि १ रजतसहित थप ३ काँस्य पदक जितीसकेको छ। एसियाडमा नेपाललाई पहिलोपल्ट पदक दिलाउन सफल बक्सिङबाट अहिले सम्म ६ वटा काँस्य पदक हात परेको छ। प्याराग्लाइडिङबाट १ रजत जित्दा कबड्डीले पनि काँस्य पदक नेपाललाई दिलाएको छ। 

खबरपाटी
खबरपाटी