काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासोको सुनुवाइलाई थप छिटो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’लाई एकीकृत नागरिक गुनासो तथा सेवा व्यवस्थापन प्रणालीका रूपमा स्तरोन्नति गर्ने तयारी गरेको छ।
हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाका अनुसार यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि प्रस्तुत गरिएको छ। प्रस्तावअनुसार फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायत विभिन्न माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै डिजिटल पोर्टलमार्फत व्यवस्थापन गरिनेछ।
नयाँ प्रणाली लागू भएपछि सेवाग्राहीले सम्बन्धित कार्यालयमा सिधै गुनासो दर्ता गर्न सक्नेछन्। सम्बन्धित निकायमा दर्ता गर्न नचाहेमा हेलो सरकारको स्वचालित प्रणालीमार्फत गुनासो सम्बन्धित कार्यालयमा पठाइने व्यवस्था हुनेछ। गुनासोको प्रगति अनुगमन र सेवाग्राहीलाई जानकारी दिने सम्पूर्ण प्रक्रिया एउटै प्लेटफर्मबाट सञ्चालन गरिने प्रस्ताव गरिएको छ।
यस्तै, सरकारी टोल–फ्री नम्बर ११११ लाई विभिन्न मन्त्रालय र सरकारी निकायका कल सेन्टरसँग अन्तरआबद्ध गर्ने तयारी गरिएको छ। सम्बन्धित निकायबाट सेवा उपलब्ध नभएमा गुनासो पुनः हेलो सरकारमा फर्किने व्यवस्था गरिनेछ, जसबाट एउटै विषयमा नागरिकले पटक–पटक विभिन्न कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।
प्रस्तावित व्यवस्थाअनुसार अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासा १५ दिनभित्र सम्बोधन गर्नुपर्ने समयसीमा निर्धारण गरिएको छ। गुनासो समाधान भएपछि सेवाग्राहीबाट पृष्ठपोषण प्राप्त गरेपछि मात्रै गुनासो फर्छ्योट हुने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
यसैबीच, हेलो सरकारमा गुनासो दर्ता हुने क्रम उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा ६९ हजार ७२४ गुनासा दर्ता भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३२१ प्रतिशत बढी हो। अघिल्लो वर्ष १६ हजार ५६८ गुनासा दर्ता भएकामा एक वर्षमै ५३ हजार १५६ गुनासा थपिएका छन्।
कार्यालयका अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा हेलो सरकारमा एक लाख २४ हजार ५८१ गुनासा दर्ता भएका छन्। तीमध्ये गत आर्थिक वर्षमा मात्रै दर्ता भएका गुनासाले कुल गुनासाको करिब ५६ प्रतिशत हिस्सा ओगटेको छ।
यस्तै, पछिल्ला तीन महिनामा मात्रै ५० हजार ७२१ गुनासा दर्ता भएकामा ३९ हजार १७७ गुनासाको सम्बोधन गरिएको छ। चालु आर्थिक वर्षको साउन १ गतेदेखि १८ गतेसम्म मात्र ९ हजार ६१० गुनासा प्राप्त भएकामा ६ हजार ६०१ गुनासा फर्छ्योट भइसकेका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार प्रस्तावित सुधार कार्यान्वयनमा आएपछि ‘हेलो सरकार’ गुनासो दर्ता गर्ने माध्यममा मात्र सीमित नरही सार्वजनिक सेवा सुधार, नीति निर्माण तथा सुशासन प्रवर्द्धनको प्रभावकारी उपकरणका रूपमा विकास गरिनेछ।