प्रधानमन्त्री शाहसँग सुदूरपश्चिमका रास्वपा सांसदको छलफल, विकास आयोजनामा जोड

प्रधानमन्त्री शाहसँग सुदूरपश्चिमका रास्वपा सांसदको छलफल, विकास आयोजनामा जोड

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्नुभएको छ।

भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा हासिल गरेका उपलब्धिको प्रशंसा गर्दै ती विषयलाई संसद्मार्फत जनतासमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

साथै, सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विकास आयोजना, स्थानीय समस्या तथा समसामयिक राजनीतिक अवस्थाबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराउनुभएको थियो।

उहाँहरूले गेटा विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक निर्माण, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, नदी तटबन्ध, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिम सेती जलविद्युत् आयोजनालगायतका विषयमा छलफल गर्नुभएको थियो।

त्यसैगरी, भन्सार व्यवस्थापन, आरक्षपीडितका समस्या, हुलाकी राजमार्ग, किसानका लागि धान खरिद–बिक्रीको व्यवस्था तथा दोधारा–चाँदनी क्षेत्रमा भइरहेको नदी कटान नियन्त्रणका विषयमा पनि प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको जनाइएको छ।

भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायतको सहभागिता रहेको थियो।

खबरपाटी
खबरपाटी