काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानूनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेकी छन्।
आइतवार तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसको अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेकी हुन्। उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको प्रमुख आधार रहेको बताइन्।
उनले संवेदनशील परिस्थितिमा अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न समेत सबै पक्षलाई आग्रह गरिन्। पूर्वराष्ट्रपति भण्डारीले तुल्सीलाल अमात्यले स्थापित गरेको सिद्धान्तनिष्ठ राजनीति, त्याग, इमान्दारी र जनसेवाको आदर्श सधैँ प्रेरणाको स्रोत बनिरहोस् भन्ने चाहना व्यक्त गरिन्।
भण्डारीले भनिन्, ‘केही दिनयता पूर्वी तराईका जिल्लामा देखिएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाले हामी सबैको गम्भीर ध्यानाकर्षण गराएको छ। विविधताबीचको एकता, आपसी सम्मान, सहष्णिुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार हो। आजको यस संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइलाई संयमता अपनाउन, अफवाह, घृणाबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानूनी शासनलाई सुदृढ बनाउन म हार्दिक आह्वान गर्न चाहन्छु।’
उनले तुल्सीलालसहित मुलुकमा लोकतन्त्र स्थापित गर्न भूमिका निर्वाह गर्ने नेताहरूको आदर्श र विचारलाई आत्मसात गर्दै अघि बढ्न आवश्यक रहेको बताइन्।