काठमाडौं - प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ। बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्ति–सुरक्षा कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
बैठकमा देशको समग्र सुरक्षा अवस्थाका साथै साउन १० गते सुनसरीमा भएको घटनाबारे विस्तृत समीक्षा गरिएको थियो। परिषद्का तर्फबाट प्रस्तुत ब्रिफिङमा राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट उक्त क्षेत्रको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको जानकारी गराइएको थियो।
बैठकपछि परिषद्ले जारी गरेको विज्ञप्तिमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित पक्षसँग प्रभावकारी समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी कार्यसम्पादन गरिने उल्लेख गरिएको छ।
त्यसैगरी, विपद्का घटनामा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वयलाई अझ सुदृढ बनाउने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खना, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्य सचिव गोविन्द कार्की तथा प्रधान सेनापति अशोक सिग्देलको उपस्थिति रहेको थियो।