सुनसरीको देवानगञ्ज चार दिनपछि सामान्य अवस्थामा फर्किदै

सुनसरीको देवानगञ्ज चार दिनपछि सामान्य अवस्थामा फर्किदै

काटमाडौं – सुनसरीको देवानगञ्ज चार दिनपछि सामान्य अवस्थामा फर्किएको छ। 

आइतबार राति दुई समुदायबीचको झडपपछि तनावग्रस्त सुनसरी हिजोदेखि शान्त बनेको हो। हिजो एकदुई ठाउँमा स–साना प्रदर्शनबाहेक अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नियव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिए। उनका अनुसार आज बिहानको अवस्था पनि सामान्य छ। सामाजिक सद्भाव कायम राख्न बिभिन्न पक्षहरुका बीचमा समन्वय र सहकार्यको प्रयास जारी छ। 

यद्यपि जोखिम कायमै रहेकाले कर्फ्यू भने कायमै राखिएको छ। जिल्लाका १० वटा पालिकामा कर्फ्यू लगाइएको छ। इनरुवा र दुबही नगरपालिकासहित भोक्राहा नरसिंह, कोशी, गढी, देवानगंज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू छ। 

यस्तै रामधुनी नगरपालिकाका वडा नं १ र ५ तथा इटहरी उपमहानगरपालिका वडा नं १६ र १७ स्थित महेन्द्र राजमार्गको दायाँबायाँ २०० मिटर क्षेत्रमा भेला, धर्ना, जुलुस निषेध गरिएको छ। स्थिति सामान्य बने पनि तत्कालै कर्फ्यू हट्ने अवस्था भने छैन। 

हिजै रास्वपा सभापति रवि लामिछाने र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीको आह्वानमा बसेका छुट्टाछुट्टै सर्वदलीय बैठकले शान्ति पुर्नस्थापनाका लागि पहल गरेका थिए। 

तीन दिनपछि प्रधानमन्त्री बालेन्द्र शाहले समेत सुरक्षा निकायका प्रमुखहरुसँग ब्रिफिङ लिएका थिए। यसैबीच हिजो राति पर्साको वीरगञ्जमा देखिएको तनाव पनि आज साम्य भएको छ। 

हिन्दु संगठनका केही युवाहरुको समूहले राति सात बजे आसपासको समयमा माइस्थान–घण्टाघर क्षेत्रमा राँके जुलुस निकालेको थियो। तर, अहिले सबै क्षेत्रको अवस्था शान्त रहेको प्रमुख जिल्ला अधिकारी भोला रिजालले जानकारी दिए। 

 

खबरपाटी
खबरपाटी