सुनसरी घटनापछि प्रधानमन्त्री शाहको राष्ट्रका नाममा सम्बोधन, शान्ति–सद्भाव कायम राख्न सबैसँग अपिल

सुनसरी घटनापछि प्रधानमन्त्री शाहको राष्ट्रका नाममा सम्बोधन, शान्ति–सद्भाव कायम राख्न सबैसँग अपिल

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायतका स्थानमा भएका घटनापछि राष्ट्रका नाममा सम्बोधन गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सम्पूर्ण नागरिकसँग संयम अपनाउन अपिल गर्नुभएको छ।

प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी दिनुभयो।

उहाँले घटना भएलगत्तै सुरक्षा निकाय परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको उल्लेख गर्दै निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको र दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री शाहले केन्द्रमा सर्वदलीय बैठक आयोजना गरी छलफल गरिएको, स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको र गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारी घटनास्थलमा खटिएको जानकारी दिनुभयो। राष्ट्रिय सुरक्षा परिषद्को बैठकले पनि समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै आवश्यक निर्णय गरिसकेको उहाँले बताउनुभयो।

उहाँले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट अफवाह, घृणा फैलाउने सामग्री वा साम्प्रदायिक सद्भाव बिगार्ने अभिव्यक्ति प्रचार–प्रसार नगर्न आग्रह गर्दै सरकारी निकायबाट जारी आधिकारिक सूचनामात्र विश्वास गर्न सबैलाई अनुरोध गर्नुभयो।

प्रधानमन्त्री शाहले प्रत्येक नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण र शान्ति कायम गर्नु सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै शान्ति–सुरक्षा भंग गर्ने, अराजकता फैलाउने तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिनुभयो।

उहाँले नेपालको संविधानले सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने मौलिक हक सुनिश्चित गरेको स्मरण गराउँदै कुनै एक स्थानको घटनालाई आधार बनाएर कुनै समुदायलाई दोषारोपण गर्नु वा प्रतिशोधको भावना फैलाउनु न्यायोचित नहुने बताउनुभयो।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपालको शक्ति आपसी एकता, सहिष्णुता र भाइचारामा रहेको उल्लेख गर्दै सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक समुदाय, सञ्चारमाध्यम तथा आम नागरिकलाई धैर्य, संयम र जिम्मेवारीका साथ राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न हार्दिक अपिल गर्नुभयो।

खबरपाटी
खबरपाटी