काठमाडौँ - नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहर व्यवस्थापनस्थलमा देखिएका चुनौती तथा त्यहाँका स्थानीय भोग्नुपरेका समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायसँग छलफल गरेका छन्।
सञ्चार मन्त्रालयमा आज आयोजित छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ, महानगरको वातावरण विभाग प्रमुख सरिता राई, सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर रुपक आचार्य तथा ककनी गाउँपालिकाका स्थानीय प्रतिनिधि सहभागी थिए।
छलफलपछि सञ्चारमन्त्री तिमिल्सिनाले फोहर व्यवस्थापनमा प्रभावकारी अनुगमन, स्थानीयवासीका गुनासोको सुनुवाइ, सडक पूर्वाधार सुधार तथा वैज्ञानिक ढङ्गबाट फोहर व्यवस्थापन गर्न निर्देशन दिए। साथै फोहर व्यवस्थापनबारे स्थानीयले उठाउँदै आएका गुनासालाई गम्भीर रूपमा लिनुपर्ने बताए।
स्थानीयवासीले बञ्चरेडाँडा फोहर बिसर्जनस्थलसम्म पुग्ने सडक अत्यन्तै जीर्ण रहेको, फोहरबाट दुर्गन्ध फैलिने, फोहर बोकेका सवारीसाधन नछोपेरै सञ्चालन गरिने, बीच बाटोमै फोहर खसाल्ने, फोहर विसर्जनपछि गाडी नधोइ उपत्यकातर्फ फर्काइने तथा फोहरमाथि पर्याप्त मात्रामा माटोले छोप्ने (क्यापिङ) कार्यमा लापरबाही भइरहेको गुनासो गर्दै आएका छन्।
सञ्चारमन्त्री तिमिल्सिनाले स्थानीयका यी गुनासा सम्बोधनका लागि सम्बन्धित निकायलाई बोलाएर छलफल गरेका हुन्।
बञ्चरेडाँडामा काठमाडौँ महानगरपालिकाबाहेक अन्य २० वटा स्थानीय तहबाट समेत फोहर ल्याइने भए पनि ती स्थानीय तहलाई व्यवस्थापनको जिम्मेवारीमा प्रभावकारी रूपमा सहभागी गराउन नसकिएको विषय उठाइएको छलफलमा उठाइएको थियो।
हाल बन्चरेडाँडाको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी र आर्थिक भार काठमाडौँ महानगरपालिकाले व्यहोर्दै आएको छ।