काठमाडौँ - सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले बाहिर अभिव्यक्ति नदिए पनि आफ्नो तर्फबाट कार्यसम्पादन गरिरहेको बताएका छन्।
बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले सरकारले आफ्नो तर्फबाट काम गरिरहेकाले आरोप-प्रत्यारोप नगर्न राजनीतिक दलहरूलाई आग्रह गरे। उनले वर्तमान परिस्थिति संवेदनशील रहेकाले शान्ति सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्नु नै अहिलेको मुख्य दायित्व भएको बताए।
आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै उनले यसमा सुरक्षा निकाय जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिए। घटनाको सत्यतथ्य बाहिर ल्याउन समय लाग्ने बताउँदै उनले कुनैपनि अफवाह वा ‘कन्स्पिरेसी’ को पछि नलाग्न आग्रह गरे। लामिछानेले विगतमा कुन परिस्थिति र विषयलाई लिएर आन्दोलन भएको थियो र अहिलेको अवस्था के हो भन्ने कुरा बुझ्न जरुरी रहेको बताए।
‘विगतमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालमाथि लगाइएका प्रतिवन्ध लगायतका विषयमा आन्दोलन भएका थिए, तर आजको परिस्थिति हिजोको जस्तो होइन। अहिले विभिन्न भ्रम र अफवाहहरू फैलिएका छन्। हामीले जिम्मेवार प्रशासनलाई निष्पक्ष छानबिनका लागि सहयोग गर्नुपर्छ’, उनले भने, ‘अनुसन्धानको निष्कर्ष नआएसम्म कुनैपनि विषयमा टिप्पणी गर्नु हतारो हुनेछ । अहिलेको प्राथमिकता भनेको शान्ति सुव्यवस्था र सद्भाव कायम गर्ने हो । कसले गल्ती गर्यो वा कसले कति बेला के बोल्यो भन्ने जस्ता ससाना विषयमा अल्झिने समय यो होइन।’
लामिछानेले सामाजिक सद्भाव नभड्कियोस् भन्नेतर्फ सञ्चारकर्मीहरूलाई समेत संवेदनशील हुन र जिम्मेवारीपूर्वक सूचना संप्रेषण गर्न आग्रह गरे।