काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिनुभएको छ।
बुधबार गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै सुनसरीको पछिल्लो सुरक्षा अवस्था, चुनौती र सम्भावित जोखिमबारे जानकारी लिनुभएको हो।
ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव भड्काउने वा शान्ति–सुरक्षामा खलल पुर्याउने गतिविधिमाथि कडा निगरानी राख्न निर्देशन दिनुभएको छ।
उहाँले शान्ति–सुरक्षा कायम गर्ने विषयमा कुनै पनि किसिमको सम्झौता नगर्न सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिँदै गृह मन्त्रालय मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उच्च सतर्कताका साथ परिचालन गर्न आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री शाहले नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै कानूनको पालना गराउन र सम्भावित जोखिमलाई समयमै नियन्त्रणमा लिन आवश्यक सबै संयन्त्र सक्रिय राख्न पनि निर्देशन दिनुभएको छ।