नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ  -  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको बताइएको छ।

शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका ९ र नेकपाका १४ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन मंगलबारै दाबी पेश गरेका थिए।

एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले गत शनिबार राजीनामा दिएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको थियो।

४० सदस्यीय प्रदेश सभामा कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १०, राप्रपा र अन्य १-१ जना सदस्य छन्।

शाही मुगु प्रदेश सभा-२ बाट तत्कालीन माओवादी केन्द्रबाट विजयी भएका थिए।

उनी प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री भइसकेका छन्।

खबरपाटी
खबरपाटी